मानव आवाज

२०८३ जेष्ठ २५ गते
00: 00: 00
२०८३ जेष्ठ २५ गते

झरुवारासीमा भक्ति अनुष्ठान, “धाम”निर्माणको घोषणा

ललितपुर । गोदावरी नगरपालिका-१३ झरुवारासीमा सुरु भएको वसन्त नवरात्री-रामनवमी भक्ति अनुष्ठान २०८२ यसपटक केवल धार्मिक अनुष्ठानमा सीमित नभई सामाजिक सन्देश बोकेको अभियानका रूपमा अगाडि आएको छ ।

“बनौँ श्रवणकुमार” भन्ने भावनासहित ज्येष्ठ नागरिकको सम्मान र सेवा केन्द्रित कार्यक्रमले स्थानीय समुदायमा नयाँ बहससमेत जन्माएको छ ।

श्री १०८ श्रीमद्भागवत स्वर्णकल्याण सेवा परिषद्को आयोजनामा सुरु भएको अनुष्ठान २०८२ चैत ५ गते उद्घाटन भएसँगै दैनिक श्रीमद्भागवत कथा वाचन, भजन-कीर्तन र आध्यात्मिक प्रवचनका कार्यक्रम चलिरहेका छन् ।

आचार्य श्री गोविन्दशरण दाहालबाट भइरहेको कथा वाचनले धार्मिक आस्थासँगै पारिवारिक कर्तव्य र नैतिक जिम्मेवारीबारे सन्देश प्रवाह गरिरहेको सहभागीहरूले बताएका छन् ।

यस कार्यक्रमको मुख्य आकर्षणका रूपमा अगाडि सारिएको “बनौँ श्रवणकुमार” अभियानले आफ्ना अभिभावक तथा ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व सम्झाउने लक्ष्य लिएको छ ।

आयोजकका अनुसार अनुष्ठानपश्चात् झरुवारासीस्थित आश्रम क्षेत्रमा ज्येष्ठ नागरिक लक्षित पवित्र धाम निर्माण गर्ने योजना अघि सारिएको छ, जसले दीर्घकालीन रूपमा सामाजिक सेवा केन्द्रको रूप लिन सक्ने अपेक्षा गरिएको छ ।

परिषद्का अध्यक्ष तथा १०८ श्रीमद्भागवत सङ्कल्प अभियानका अभियन्ता मुमुक्षु उद्धव शर्माले आध्यात्मिक जागरणलाई व्यवहारिक सेवासँग जोड्ने प्रयासस्वरूप यस्तो योजना ल्याइएको बताउनु भयो ।

उहाँका अनुसार प्रस्तावित धाममा ज्येष्ठ नागरिकका लागि बसोबास, साधना र सेवा सुविधा विकास गरिनेछ । साथै, आश्रम परिसरमा सात सप्तालय सञ्चालन गर्ने परिकल्पनासमेत अघि बढाइएको छ ।

उद्घाटन अवसरमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित वडा नं. १३ का वडाध्यक्ष भास्कर थापा, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

कार्यक्रममा निकालिएको कलशयात्राले धार्मिक उत्साह बढाए पनि यसको केन्द्रमा रहेको सामाजिक सन्देशले विशेष ध्यान खिचेको देखिन्छ ।

अनुष्ठान २०८२ चैत १३ गतेसम्म सञ्चालन हुनेछ । समापनअघि चैत १२ गते झरुवारासी-चापागाउँ क्षेत्रका ऐतिहासिक मठ-मन्दिरमा भगवान राम-सीताको रथयात्रा आयोजना गर्ने कार्यक्रम रहेको छ ।

धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई एकै ठाउँमा जोड्ने प्रयासका रूपमा हेरिएको यस अनुष्ठानले स्थानीय स्तरमा “आध्यात्मिकता केवल पूजा नभई व्यवहारमा रूपान्तरण हुनुपर्छ” भन्ने बहसलाई थप बल दिएको छ ।

Author

Related News