पोखरा । पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित न्यू मोडल स्कुलका विद्यार्थी अनिज पोखरेलले प्रदेशस्तरीय विज्ञान हाजिरीजबाफ प्रतियोगितामा लगातार तेस्रो पटक पहिलो स्थान हासिल गर्दै ह्याट्रिक गर्नु भएको छ ।
विज्ञान शिक्षक समाज नेपाल (स्टान) कास्कीले आयोजना गरेको सातौँ गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजबाफ प्रतियोगितामा न्यू मोडल स्कुल कक्षा १० मा अध्ययनरत पोखरेलको टोली यस वर्ष पनि विजेता बनेको हो । यसपटक उहाँको टोलीमा कक्षा १० कै ओजस्वी पौडेल सहभागी हुनुहुन्थ्यो ।
यसअघि २०८० सालमा अनिज आफ्ना दाजु एरिज पोखरेल सँगको टोलीबाट पहिलो हुनुभएको थियो भने २०८१ सालमा अनिज र सुरज जैसवाल को टोलीले पनि प्रतियोगिताको उपाधि जितेको थियो ।
एरिज पोखरेल हाल एसओएस विद्यालयमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत हुनुहुन्छ ।
प्रतियोगितामा मदरल्याण्ड सेकेन्डरी स्कुल दोस्रो र ताराकुञ्ज स्कुल तेस्रो स्थानमा रहन सफल भए ।
पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपियाँ नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी भास्कर मेमोरियल चौथो, मदरल्याण्ड माविको अर्को टोली पाँचौँ र सिर्जना बोर्डिङ स्कुल छैटौँ स्थानमा रह्यो ।
कार्यक्रममा कास्की जिल्लामा विज्ञान विषयतर्फ ३.९२ औसत ग्रेड पोइन्टसहित शतप्रतिशत नतिजा ल्याउन सफल मदरल्याण्ड सेकेन्डरी स्कुलका विज्ञान शिक्षकहरू महेशकुमार प्रधान, हरि कुँवर र रामप्रसाद ओझालाई सम्मान गरिएको छ ।
त्यसैगरी सामुदायिक विद्यालयतर्फ विज्ञान विषयमा ३.६६ ग्रेड पोइन्ट प्राप्त गर्न सफल अमर सिंह माध्यमिक विद्यालयका शिक्षकहरू खेमराज आचार्य, सुदीप आचार्य र ज्योतिप्रसाद आचार्य लाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा भौतिकशास्त्री पवित्रमणि पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा विज्ञान सङ्काय प्रमुख डा. विजयबहादुर थापा, गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम, स्टानका केन्द्रीय प्रतिनिधि एवम् पूर्व अध्यक्ष राजकुमार ढकाल, अमरसिंह मावि व्यवस्थापन समिति अध्यक्ष कृष्ण कोइराला, न्यू मोडल स्कुलका निर्देशक लक्ष्मण पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अनिज र एरिजका बाबु लक्ष्मण पोखरेल स्वयम् न्यू मोडल स्कुलमा विज्ञान शिक्षक हुनुहुन्छ । छोराहरूको निरन्तर सफलताले विद्यालय र परिवार दुवैमा खुसी छाएको उहाँले बताउनु भयो ।
विज्ञान शिक्षक समाज नेपाल (स्टान) कास्कीका अध्यक्ष शान्ताराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुनिल न्यौपानेले गर्नु भएको थियो ।