पोखरा । सूचना प्रविधिको तीव्र विकाससँगै सञ्चार माध्यमहरू डिजिटल रूपान्तरणतर्फ अग्रसर हुनुपर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जोड दिनु भएको छ ।
आमसञ्चारलाई व्यावसायिक बनाउन विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम २०८२ पुस १३ गते पोखरामा सम्पन्न भएको हो ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खरेलले मन्त्री भएपछि उपत्यका बाहिर सहभागी भएको यो पहिलो कार्यक्रम भएको उल्लेख गर्नु भयो ।
उहाँले उद्योग–व्यवसाय नै नफस्टाएको वर्तमान अवस्थामा सञ्चार माध्यमहरू स्वाभाविक रूपमा संकटमा परेको बताउँदै “एक पत्रकार, एक मिडिया”को अवस्था सिर्जना भएको उल्लेख गर्नु भयो ।
यति धेरै सञ्चार माध्यम आवश्यक छन् कि छैनन् भन्ने विषयमा पुनरावलोकन गर्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।
मन्त्री खरेलका अनुसार मुलुक निर्वाचनतर्फ अघि बढिसकेको छ र प्रमुख राजनीतिक दलहरूबिच निर्वाचनमा जाने सहमति भइसकेको छ ।
फागुन २१ गतेपछि गठन हुने सरकारले देशलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने र भ्रष्टाचार अन्त्यका लागि ठोस कदम चाल्ने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो ।
लोककल्याणकारी विज्ञापनबाट श्रमजीवी पत्रकारले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै मन्त्री खरेलले अनलाइन, युट्युबसहितका डिजिटल प्लेटफर्म अब मूलधारको मिडिया बन्दै गएको बताउनु भयो । परम्परागत सञ्चार माध्यमहरू पनि प्रविधिसँगै डिजिटल रूपान्तरणमा जानुपर्ने उहाँको जोड थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले विधि र विधान मात्र पर्याप्त नभई सकारात्मक सोच र कर्तव्यबोध आवश्यक रहेको बताउनु भयो ।
समाचार प्रकाशनअघि सत्यता र जिम्मेवारीमा ध्यान दिनु पत्रकारिताको व्यावसायिकता भएको उहाँको भनाइ थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सञ्चार माध्यमबाट प्रवाह हुने समाचार तथा सूचना सत्य, तथ्य र विश्वसनीयतामा आधारित हुनुपर्ने बताउँदै पछिल्लो समय सञ्चार सामग्रीको विश्वसनीयतामा चुनौती बढ्दै गएको उल्लेख गर्नु भयो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले आमनागरिकसँगै सञ्चारकर्मीहरू पनि सुरक्षाको दृष्टिले असुरक्षित रहेको बताउनु भयो ।
राजनीतिक परिवर्तनसँगै मिडियामा पनि परिवर्तन र दिगोपन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सरकारले मिडिया स्वरोजगार कार्यक्रम र मिडिया कोष स्थापना गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले सञ्चारलाई व्यावसायिक बनाउन पाँच बुँदे सुझाव प्रस्तुत गर्नु भयो ।
उहाँका अनुसार नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयन, सञ्चार संस्थाको आर्थिक दिगोपन, पत्रकारको श्रम सुरक्षा, डिजिटल रूपान्तरण तथा नयाँ प्रविधिको उपयोग, र नैतिकता तथा आत्मनियमन पत्रकारिताको आधार स्तम्भ हुन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव उदयबहादुर रानामगरले आमसञ्चार माध्यमका सवाल र चुनौती तथा संवैधानिक व्यवस्थामा सञ्चारको हकबारे प्रस्तुति दिनु भयो ।
नेपाल सरकार विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रका समस्या, बिलिङ प्रणाली र नियमावली संशोधनसम्बन्धी विषयमा धारणा राख्नु भयो ।
गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारिता आचारसंहिता, अनलाइन मिडिया तथा समसामयिक पत्रकारिताका सवालहरूबारे प्रस्तुति दिनु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप–सचिव रविन्द्रप्रसाद पौडेलले गर्नुभएको थियो ।
छलफल कार्यक्रममा पोखरामा क्रियाशील विभिन्न सञ्चार माध्यममा आबद्ध ९५ जना सञ्चारकर्मी सहित कुल १ सय १५ जनाको सहभागिता रहेको थियो ।