मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सिन्धुलीमा निर्वाचन आचारसंहिता विषयक सर्वपक्षीय छलफल सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली ।

प्रतिनिधि सभाको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सिन्धुलीमा निर्वाचन आचारसंहितासम्बन्धी सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

छलफलका क्रममा केही राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार भइरहेको गुनासो राख्दै त्यस्ता गतिविधिमाथि कारबाही गर्न माग गरेका थिए । यस विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन गरिरहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म निर्वाचनसम्बन्धी तीन ओटा उजुरी दर्ता भएका छन् र ती उजुरीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

सिन्धुलीका निर्वाचन अधिकृतले निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरे । उनले शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक तयारी पूरा भइसकेको पनि जानकारी दिए ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारीले सूचना प्रवाह, आचारसंहिता पालन तथा सुरक्षा व्यवस्थाका विषयमा सम्बन्धित निकायलाई समयमै जानकारी गराउन सबैलाई आग्रह गरेका छन् ।

सुरक्षा निकायले जिल्लाभर सुरक्षा व्यवस्था चुस्त पारिएको दाबी गर्दै शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक तयारी पूरा गरिएको जनाएको छ ।

आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

Author

Related News