मानव आवाज

२०८३ असोज ८ गते
00: 00: 00
२०८३ असोज ८ गते

औषधिको गुणस्तर छानबिन गर्न तीनपाटनमा सर्वदलीय समिति

सिन्धुली । तीनपाटन गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा उपलब्ध औषधिको गुणस्तर, माग र आपूर्तिबारे छानबिन गर्न सर्वदलीय तथा सर्वपक्षीय अनुगमन समिति गठन गरिएको छ ।

गाउँपालिका कार्यपालिकाको २०८३ असोज ५ गते बसेको बैठकले गाउँपालिका उपाध्यक्ष धनबहादुर अशोक पुलामीको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो । समितिले १५ दिनभित्र अनुगमन गरी प्रतिवेदन पेश गर्नेछ ।

पछिल्लो समय तीनपाटन गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थामा वितरण हुने औषधिको गुणस्तरका विषयमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि यथार्थ पत्ता लगाउन अनुगमन समिति गठन गरिएको गाउँपालिका उपाध्यक्ष पुलामीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरद्वारा जारी विज्ञप्तिमा सर्वसाधारणको गुनासो तथा पालिकास्थित राजनीतिक दलहरूको चासोलाई सम्बोधन गर्दै औषधिको गुणस्तर, माग र आपूर्तिसम्बन्धी वास्तविक तथ्य पत्ता लगाउन समिति गठन गरिएको उल्लेख छ ।

गठित समितिमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका एक–एक जना प्रतिनिधि, सम्बन्धित वडाका वडा अध्यक्ष तथा गाउँपालिकाको जनस्वास्थ्य शाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

समितिमा जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकृत प्रतिनिधिलाई समेत आमन्त्रण गरिने जनाइएको छ ।

यसैगरी, कार्यपालिका बैठकले बागमती प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को परिच्छेद-११ विपरीत पदीय आचरण बाहिर गएर काम गर्ने केही कर्मचारीमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार