कृषि, संस्कृति र व्यापारको साझा मञ्च बनेको लेखनाथ महोत्सव
पोखरा । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको २१ औँ लेखनाथ महोत्सव कृषि, उद्योग, व्यापार, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित हुन सफल भएको छ ।
लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवर्धन र आर्थिक चलायमानतालाई केन्द्रमा राख्दै आएको यो महोत्सव केवल मनोरञ्जनात्मक उत्सवमा सीमित नभई कृषि बहस, नीति संवाद र व्यावसायिक अन्तरक्रियाको केन्द्र बन्दै गएको छ ।
महोत्सवको पाँचौँ दिन अर्थात् २०८२ पुस ७ गते आयोजित कृषि बहस कार्यक्रमले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको छ ।
कार्यक्रमका सहजकर्ता तथा पत्रकार सुरेन्द्र पौडेलले सञ्चालन गर्नुभएको कृषि बहसमा विभिन्न क्षेत्रका कृषकहरूले आफ्ना अनुभव, चुनौती र सफलताका कथाहरू प्रस्तुत गर्नुभएको थियो ।
व्यावसायिक माछापालक कृषक यज्ञप्रसाद आचार्यले माछापालन व्यवसाय सुरु गर्दा भोग्नुपरेका चुनौती, प्रविधिको आवश्यकता र बजार व्यवस्थापनको महत्त्वबारे अनुभव सुनाउनुभयो ।
अलैंची खेतीमा संलग्न कृषक सुरेन्द्रजङ्ग क्षत्रीले नगदे बालीका रूपमा अलैंची खेतीले ग्रामीण अर्थतन्त्रमा ल्याएको सकारात्मक परिवर्तनसँगै जोखिमबारे चर्चा गर्नुभयो ।
त्यस्तै, पोल्ट्री व्यवसायी बाबुराम गिरीले व्यवसायिक पोल्ट्री खेतीका उतार–चढाव, रोग व्यवस्थापन र बजार प्रतिस्पर्धाका विषयमा धारणा राख्नुभयो ।
कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र कृषक लक्षित सहयोग योजनाबारे जानकारी गराउँदै सरकार र कृषकबिच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार लेखनाथ महोत्सवमार्फत हालसम्म करिब डेढ अर्ब रुपियाँ बराबरको आर्थिक कारोबार भइसकेको छ भने २१ औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरिसकेका छन् ।
भट्टराईका अनुसार पुस ७ गते मात्र २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए भने सो दिन १ करोड १० लाख रुपियाँ बराबरको आर्थिक कारोबार भएको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समिति संयोजक जानुका पराजुली अधिकारीका अनुसार महोत्सवमा समयतालिका अनुसार रत्यौली, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति, नृत्य, लोकदोहोरी, सुगम संगीत र गायन कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको छ ।
२०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवर्धन गर्दै स्थानीय समृद्धिको बलियो आधार बनेको छ ।
आगामी दिनमा दर्शक सङ्ख्या र आर्थिक कारोबार अझै बढ्ने अपेक्षा गरिएको महोत्सव मूल समितिले जनाएको छ ।