मानव आवाज

२०८३ असोज १९ गते
00: 00: 00
२०८३ असोज १९ गते

दुधौलीमा कृषि उपज भवन, कृषकमा जाग्यो नयाँ आशा

सिन्धुली । दुधौली नगरपालिका-११, शनिबारेमा कृषि उपज भवन निर्माण भई उद्घाटन भएपछि स्थानीय कृषकमा नयाँ आशा जागेको छ । नवनिर्मित कृषि बजार तथा भवन सञ्चालनमा आएसँगै कृषकले उत्पादन गरेका कृषि उपजले उचित मूल्य र सहज बजार पाउने अपेक्षा गरिएको छ ।

२०८३ असोज १७ गते बागमती प्रदेशसभा सदस्य सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा कृषि उपज भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै सांसद तामाङले कृषि उपज भवन भौतिक संरचना मात्र नभई स्थानीय किसानको पसिना, मेहनत र उत्पादनले उचित मूल्य पाउने साझा थलो भएको बताउनुभयो । कृषकलाई व्यावसायिक बनाउन र स्थानीय उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउन कृषि बजारले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुले कृषि क्षेत्रको सुदृढीकरणले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने बताउनुभयो । स्थानीय अर्थतन्त्र बलियो भएपछि मात्रै समृद्ध दुधौली निर्माणको लक्ष्य हासिल गर्न सकिने उहाँको धारणा थियो ।

कृषि बजार सञ्चालनमा आएसँगै दुधौली-११ का कृषकको जीवनमा नयाँ आशा, अवसर र आम्दानीको बाटो खुल्ने अपेक्षा गरिएको लोकगायक भोजराज काफ्लेले बताउनुभयो ।

वडाध्यक्ष पवन कार्कीका अनुसार कृषि उपज भवनको निर्माणसँगै स्थानीय कृषकले आफ्ना उत्पादन बिक्री गर्न सहज बजार पाउने विश्वास गरिएको छ । आगामी दिनमा बजारलाई थप व्यवस्थित, आधुनिक र पूर्ण रूपमा कृषकमैत्री बनाउँदै लैजाने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कृषि उपजको बजारीकरणमा सहजता, उत्पादनको उचित मूल्य र कृषकको आम्दानी वृद्धि गर्न यस कृषि बजारले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार