पोखरा । कृषि सेवा प्रवाह गर्नको लागि अन्नपूर्ण गाउँपालिका, कास्कीको समन्वयमा सञ्चालन हुने गरी अन्नपूर्ण गाउँपालिका-३ मा रहेको मराम्चे अगार्निक कृषि फर्मलाई २०८२ भदौ १४ अग्नि इनकर्पोरेटेड प्रालिले महिन्द्रा बोलेरो जिप (कृषि एम्बुलेन्स) एक समारोहका बिच प्रदान गरेको छ ।
मराम्चे अगार्निक कृषि फर्मका सञ्चालक एवम् कृषि अभियन्ता बलराम पौडेलले व्यवसायिक सफलताको लागि प्राप्त महिन्द्रा बोलेरो जिपले सिङ्गो मराम्चे गाउँलाई सेवा दिने बताउनु भयो । उहाँले यो सहयोगले आगामी दिनमा कृषि कर्म गर्न आफू थप उत्प्रेरित भएको बताउनु भयो ।
ईको भिलेजको सपना: बलराम पौडेलको अधुरो क्रान्ति !
“गाउँमा केही गर्न खोज्दा कतै न कतैबाट सहयोग हुँदोरहेछ ।”-पौडेल भन्नुहुन्छ । हाल मराम्चे अर्गानिक कृषि फर्ममार्फत गाई, भैंसी, बाख्रा, आलु, च्याउ, खुर्सानी, प्याज, गाजर, काक्रो, सिमी लगायतका जैविक उत्पादन भइरहेको उहाँले बताउनु भयो ।
पौडेलको योजना दुध प्रशोधन गरेर दही, पनीर, घ्यू, आइसक्रिम उत्पादन गर्ने र यही गाडीमा बजारसम्म पुर्याएर बेच्ने रहेको छ ।

उहाँले अन्य सहयोगी हातहरूबाट रकम प्राप्त गर्न सके यहाँका ४२ घर परिवारलाई २ प्रतिशतका दरले व्याजमा पैसा घुमाएर पशुपालन बढाएर आर्थिक उन्नति गर्ने/गराउने चाहाना छ ।
विदेश गएर पसिना बगाउनुभन्दा स्वदेशमै दुःखजिलो गर्नका लागि आफू सङ्घर्षरत रहेको उहाँको भनाइ छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नि इनकर्पोरेटेडले कृषि प्रवर्धनका लागि थप उचाइमा पुर्याउन उपयोग हुने गरी जिप उपलब्ध गराएकोमा प्रशंसा गर्नु भयो ।
बाँझो खेत, सुनसान गोठ र सम्झनामा नेपाल आमा
अग्नि इनकर्पोरेटेड प्रालिका कार्यकारी निर्देशक क्याबिनेट श्रेष्ठले देशमै उन्नति प्रगति गर्न चाहनेहरूका लागि आफूहरूले सहयोग गर्दै आएको बताउँदै यहाँ दिइएको बोलेरो त्यसकै एक उदाहरण भएको बताउनु भयो ।
