मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

नागरिकको सेवा प्रति चुस्त, स्फूर्त, पारदर्शी, प्रभावकारी र जबाफदेही हुन मन्त्री पाठकको आग्रह

पोखरा । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतका ११ जिल्लामध्ये प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङको आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना गोष्ठी २०८२ कार्तिक २१ गते बेसीशहरमा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी प्रदेश सरकार अघि बढेको बताउँदै, आर्थिक र चरित्रगत क्षेत्रमा शून्य सहिष्णुता अपनाइएको स्पष्ट पार्नु भयो ।

उहाँले सरकारी सेवामा चुस्त, स्फूर्त, स्पष्ट, पारदर्शी, छिटो, सरल, प्रभावकारी र जबाफदेही भएर काम गर्न आग्रह गर्दै ढिलासुस्ती अस्वीकार्य हुने बताउनु भयो ।

मन्त्री पाठकका अनुसार प्रदेश सरकारले मुख्यतया तीन क्षेत्र-औषधि तथा उपकरण, आवश्यक छात्रवृत्ति र करार चिकित्सक, र भौतिक पूर्वाधार-लाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

उहाँले गैरजरुरी शीर्षकहरू-जस्तै गोष्ठी, तालिम, इन्धन, सवारीसाधन वा मर्मत-मा कटौती भए पनि औषधि, उपकरण, एम्बुलेन्स र जनस्वास्थ्यका अत्यावश्यक कार्यक्रममा बजेट कटौती नहुने जानकारी दिनु भयो ।

बालबालिकामा १३ प्रकारका रोगविरुद्धको सम्पूर्ण खोप सुनिश्चित गरेपछि ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण अभियान सुरु गरिएको पनि मन्त्री पाठकले बताउनु भयो ।

जनस्वास्थ्य कार्यालयको प्रगति

प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण कुमार खनालले २०८१/८२ मा सम्पन्न कार्य तथा २०८२/८३ का कार्यक्रमबारे विवरण प्रस्तुत गर्नुभयो। १२ जनाको जनशक्तिबाट सञ्चालन हुँदै आएको कार्यालय मार्फत जिल्लामाः

  • सरकारी अस्पताल : २
  • सामुदायिक तथा निजी अस्पताल : ७
  • प्राथमिक स्वास्थ्य केन्द्र : २
  • हेल्थपोस्ट : ५७
  • आधारभूत स्वास्थ्य केन्द्र : १०
  • शहरी स्वास्थ्य केन्द्र : १९
  • सामुदायिक स्वास्थ्य इकाइ : ११
  • खोप केन्द्र : २०६ मार्फत स्वास्थ्य सेवा प्रदान भइरहेको जानकारी दिनु भयो ।

जिल्लाका ८ स्थानीय तहका ७५ वडाबाट स्वास्थ्य सेवा सर्वसुलभ रूपमा पुर्‍याइएको पनि उहाँले उल्लेख गर्नु भयो ।

पूर्णखोप सुनिश्चितता प्राप्त स्थानीय तहमा बालबालिकाको सङ्ख्या यस प्रकार रहेको जानकारी दिइएको छ ।

  • सुन्दरबजार-१३७
  • राइनास-१८६
  • क्व्होलासोथार-५६
  • मर्स्याङ्दी-११८
  • दोर्दी-११७
  • दूधपोखरी-६०
  • बेसीशहर-२३८
  • मध्यनेपाल-१६८ ।

जिल्ला अस्पताल र आयुर्वेद सेवाको विवरण

जिल्ला अस्पताल लमजुङका मेडिकल रेकर्ड सुपरभाइजर पुरूषोतम घिमिरेले ५० शैयाको अस्पताल २०७९ कात्तिक ३ गते प्रदेश मातहत आएपछि २०८१/८२ मा १ लाख १३ हजार ८ सय ३७  सेवाग्राही लाभान्वित भएको बताउनु भयो ।

प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. उत्सव पौडेलले २०८१/८२ का मुख्य उपलब्धि प्रस्तुत गर्दै उपचार तथा औषधि वितरणबाट १७ हजार ५ सय ९२ बिरामी लाभान्वित भएको जानकारी दिनु भयो ।

उहाँका अनुसार सर्वाधिक देखिएका रोगहरू-अम्लपित्त, श्वासप्रश्वास, जोर्नी दुखाइ, मलद्वारसम्बन्धी समस्या रहेका छन् ।

जिल्लाका सबै आठ ओटै स्थानीय तहमा आधारभूत आयुर्वेद सेवा नियमित सञ्चालन छ । सात ओटा औषधालय र संस्था नपुगेका स्थानीय तहमा तीन ओटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत सेवा विस्तार गरिएको छ ।


त्यसैगरी ६० वर्ष माथिका ३ हजार ८ सय ३ जना ज्येष्ठ नागरिकले नियमित औषधि तथा परामर्श सेवा लिएका छन् ।

स्थानीय तहको प्रस्तुतिकरण र अनुगमन

कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिले आआफ्नो प्रगति प्रस्तुत गर्नु भएको छ ।

यसै क्रममा मन्त्री पाठकले जिल्ला अस्पताल लमजुङ, सुन्दरबजार अस्पताल तथा प्रदेश आयुर्वेद चिकित्सालयको आउटरिच क्लिनिकको अनुगमन समेत गर्नु भयो ।


उहाँले १४ करोड रुपियाँको लागतमा बन्ने नयाँ सुविधा सम्पन्न जिल्ला अस्पताल भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी टेन्डर प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिनु भयो ।

सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले अस्पतालको स्तरोन्नति, भौतिक संरचना सुधार, रिक्त पदपूर्ति तथा एम्बुलेन्स व्यवस्थापनका लागि पहल गरिदिन अनुरोध गर्नु भयो । कार्यक्रमको सञ्चालन तथ्याङ्क अधिकृत लेखनाथ उपाध्यायले गर्नुभएको थियो ।

Author

Related News