मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

हरिबोल गजुरेलले चुनाव लड्न नमानेपछि कारबाही गरिएको हो: प्रचण्ड

रुद्रबहादुर खड्का, सिन्धुली

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरिबोल गजुरेललाई सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन पटक–पटक आग्रह गर्दा पनि नमानेपछि पार्टीले कारबाही गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।

शनिबार प्रेस सेन्टर नेपाल जिल्ला शाखा सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीभित्रका आन्तरिक समस्या विगतदेखि नै रहँदै आएको उल्लेख गर्नु भयो ।

प्रचण्डले भन्नु भयो-“मैले नोमिनेसन हुनुअघि तीन पटकसम्म हरिबोल गजुरेललाई चुनाव लड्नुस् भनेँ, तर उहाँले म चुनाव लड्दिनँ भन्नु भयो । त्यसपछि यहाँबाट दुई जनाको मात्रै सिफारिस आयो -हरिबोल गजुरेल र राजन दाहाल । हरिबोलजीले लड्न अस्वीकार गरेपछि राजन दाहाललाई टिकट दिइएको हो ।”

उहाँले आफू र सहसंयोजक माधव नेपालले काठमाडौंमै हरिबोल गजुरेल, महेश्वर दाहाल र राजन दाहालसहित छलफल गरे पनि सहमति जुट्न नसकेको जानकारी दिनु भयो ।

“उहाँहरूले उठाएका विषयमा राजनजीले आत्मालोचना गर्नुपर्छ भनेर मैले नै भनेको हुँ ।”-प्रचण्डले थप्नुभयो-“कार्यशैलीमा केही कमजोरी छन् भने लिखित रूपमा स्वीकार गर्नुपर्ने पनि भनेँ। तर हरिबोलजी प्रस्तावकबाट पछि हटेपछि कुरा मिल्छ भनिँदा पनि उहाँहरू तयार हुनुभएन ।”

आउँदो फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन देशका लागि अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले सबै नेता तथा कार्यकर्तालाई चुनाव सफल बनाउन जुट्न आग्रह गर्नु भयो।

Author

Related News