ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको निरन्तर दबाब र खबरदारीपछि नेपाली कांग्रेसले कारबाही फुकुवा गरेको छ ।
कारबाही फुकुवाका लागि उहाँले विगतदेखि नै पार्टी सभापति तथा पदाधिकारीसँग छलफल गर्दै आइरहनु भएको थियो ।
केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पुस १२ गते बसेको बैठकले विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका सबैलाई कारबाही फुकुवा गरेको छ ।
उम्मेदवारसँगै प्रस्तावक, समर्थक तथा असहयोग गर्ने सबैको कारबाही फुकुवा गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
पार्टीको अनुशासन उल्लङ्घन गरेका नेताकार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन तथा विधानअनुसारको स्वतः कारबाहीको बाँकी अवधि माफी तथा मिनाहा गर्ने निर्णय गरेको जनाइएको छ ।
योसँगै कारबाही माफी पाएका व्यक्तिहरुको क्रियाशील सदस्यता निरन्तरता दिँदै नवीकरण गर्ने निर्णय पनि गरिएको छ ।
वरिष्ठ नेता डा. कोइरालाले केही दिन अघि मात्र नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवालाई भेटेरै कारबाही परेका सबै नेता तथ कार्यकर्ताको बिना शर्त कारबाही फुकुवा गर्न आग्रह गर्नु भएको थियो ।
डा. कोइरालासँगको छलफलपछि मात्र सभापति देउवा कारबाही फुकुवा गर्न सहमत हुनुभएको हो ।
डा.कोइरालाले पार्टीको केन्द्रीय कमिटिको बैठकमा पनि पार्टीले कारबाही गरेकाहरुको कारबाही फुकुवा हुनु पर्ने माग गर्नु भएको थियो ।
उहाँले सार्वजनिक कार्यक्रम तथा पार्टीका आन्तरिक कार्यक्रममा पनि अनुशासनको कारबाही सच्याउन तथा फुकुवा गर्न दबाब दिँदै आउनु भएङ्को थियो ।
अन्तत: डा. कोइरालाको पहलपछि पार्टी कारबाहीमा परेका उम्मेद्वारहरुसहित सबैको कारबाही फुकुवा गर्न बाध्य भएको हो । कारबाही फुकुवापछि पार्टीभित्र लामो समयदेखि रहेको विवाद पनि सकिएको छ ।