मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आशमान तामाङ २०८२ पुस १४ गते आफ्नो घरदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ पर्ने घ्याङलेख गाउँपालिका–१ पिउरी खोलाको जङ्गलमा तामाङको शव फेला परेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पेटको भागमा गोली लागेको देखिएको र शव नजिकै एक थान भरुवा बन्दुक बिच भागमा भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकले बन्दुक भिरेको अवस्थामा रहेको पाइएकाले गोली लागेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

त्यसैगरी, मृतकले बोकेको झोलाभित्र निलो रङको बिर्को भएको बट्टामा बारुदजस्तै देखिने कालो धुलो तथा रातो बिर्को भएको बट्टाभित्र बारुदजस्तै फलाम र सिसाका टुक्रा फेला परेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा लास जाँच मुचुल्का सम्पन्न गरी तामाङको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिनु भयो ।

घटनाको प्रकृति हेर्दा मृतक आफैंले बन्दुक चलाउने क्रममा पड्किएर दुर्घटना भएको वा अन्य कसैले कर्तव्य गरी हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरीले दुबै कोणबाट घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

Author

Related News