मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

वाम एकताको नाममा शक्ति सन्तुलनको खेल !

ललितपुर । पार्टी एकताको बहानामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै नेतृत्वमा उचाइ गुमाउँदै गरेको माओवादी केन्द्रलाई फेरि केन्द्रमा ल्याउने रणनीति अपनाएका देखिन्छन् ।

“एकता होइन, अस्तित्व जोगाउने खड्गो टार्ने प्रयास हो यो ।”- भनी विश्लेषकहरू टिप्पणी गर्छन् ।

नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीचको सम्भावित एकता खबरले केही दिनको राजनीतिक तापमान त बढायो, तर विप्लव पक्षको पछिल्लो प्रतिक्रिया हेर्दा “एकताको चर्चा, तर नेतृत्वको तर्कमा ठप्प” भन्ने स्थिति बनेको छ ।

विप्लव सचिवालयले माओवादीसँगको एकता प्रक्रियालाई हल्लामात्रै भन्दै सिधा अस्वीकार गरेपछि, प्रचण्डको एकता प्रस्तावले केवल भित्री असुरक्षालाई ढाक्ने चपेटो मात्र हो कि ? भन्ने प्रश्न उठेको छ ।

नेकपा एकीकृत समाजवादीसँग पनि माओवादीको ‘एकता प्रयास’ राजनीतिक खपतका लागि फालिएको ‘फण्डा’ हो । यो त्यत्तिकै अलमलमा छ ।

समाजवादीले वार्ता समितिसम्म नबनेको बताउँदा, प्रचण्डको “हुनै लागेको एकता” को दावी केवल राजनीतिक भाष्य निर्माणको अभ्यास जस्तो देखिन्छ ।

नेपालका वामपन्थी नेताहरूले “वाम एकता अझै टरेको छैन” भन्ने सार्वजनिक अभिव्यक्तिहरू दिइरहेका छन्।

तर, व्यवहारमा हेर्दा, ती एकता प्रयासहरू “कहिले काँही नजिक, कहिले निकै टाढा” जस्ता विरोधाभाषी गतिमा अघि बढेका छन् । यसले वाम मतहरू फेरि विभाजित भएर गैरवाम शक्तिलाई लाभ पुग्ने खतरा देखिएको छ ।

अबको चुनावी समीकरणमा वामपन्थी एकता हुनैपर्ने बाध्यता झल्किन थालेको छ । तर, नेतृत्वका लडाइँ, आन्तरिक स्वार्थ र पुराना प्रतिस्पर्धाले त्यो सम्भावना टार्ने खतरा उत्तिकै प्रवल छ।

वाम एकताको नाममा भइरहेका यी राजनीतिक क्रियाकलापहरू सैद्धान्तिक एकता भन्दा बढी रणनीतिक अस्तित्व र सत्ताको शेयरमा केन्द्रित देखिन्छ ।

जबसम्म नेतृत्वका लाज–शर्म र स्वार्थभन्दा माथि उठेर पार्टीहरू एउटै सिद्धान्तमा उभिन सक्दैनन्, तबसम्म वाम एकता केवल घोषणा, फोटोसेसन र वक्तव्यमै सीमित हुनेछ।

Author

Related News