मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निर्वाचनका कार्यक्रममा बालबालिका प्रयोग नगर्न आग्रह

पोखरा । विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अवधारणालाई व्यवहारमा लागू गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवाला निकायहरू जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपको आयोजनामा “विद्यालय र बालबालिका निर्वाचनमा प्रयोग हुन नदिन तथा बालअधिकारको संरक्षण र सम्बर्धनमा नागरिक समाजको भूमिका” विषयक पैरवी बैठक २०८२ माघ १२ गते पोखरामा सम्पन्न भयो ।

कार्यक्रममा सिजपका केन्द्रीय अध्यक्ष तिलोतम पौडेलले निर्वाचनका सन्दर्भमा भइरहेका तथा हुने गतिविधिमा बालबालिकाको प्रयोग वा दुरुपयोग हुन नदिन सबै पक्ष सजग हुनुपर्ने बताउनु भयो ।

उहाँले राजनीतिक दल, तिनका उम्मेदवार, निर्वाचन कार्यालय, प्रशासन तथा अन्य सरोकारवालाको ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमार्फत हुने बालबालिकाको दुरुपयोग रोक्न सचेतना र पैरवीमा नागरिक समाजका अगुवाहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो ।

छलफल कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पोखराका मानवअधिकार अधिकृत कृष्णप्रसाद अधिकारी, गैसस गण्डकीका अध्यक्ष पदमराज पहारी, जिल्ला उपाध्यक्ष सरोज बराल, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा, पत्रकार कमल पौडेल अथक, गोनेसाका कार्यक्रम संयोजक कमलबहादुर पुन, शक्ति समूहकी संयोजक सरिता पौडेल, अधिकारकर्मी मधु पन्थी, कोपिला नेपालका निरज अधिकारीलगायतले बालअधिकारको संरक्षण र सम्बर्द्धन सबैको साझा दायित्व भएको बताउनु भयो ।

वक्ताहरूले बालअधिकार कुनै व्यक्ति वा संस्थामात्रको विषय नभई समाजका सबै पक्षको जिम्मेवारी भएको उल्लेख गर्दै निर्वाचन केन्द्रीत कार्यक्रममा विद्यालय र बालबालिका प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

साथै यस विषयमा अभिभावक, प्याब्सन, एन–प्याब्सन तथा विद्यालयहरू पनि जवाफदेही र जिम्मेवार हुनुपर्नेमा जोड दिइयो ।

सिजप केन्द्रीय अध्यक्ष तिलोतम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य केशव पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशमा बालअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्था, सामाजिक अभियान्ता तथा विभिन्न सञ्जालमा आबद्ध १९ जनाको सहभागिता रहेको थियो ।

Author

Related News