पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहजीकरण तथा पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रको आयोजनामा उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण (टिओटी) सम्बन्धी १० दिने तालिम २०८२ माघ ४ गतेदेखि पोखरामा सुरु भएको छ ।
तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा तालिम सञ्चालन गर्न पाउँदा स्थानीय तहको क्षमता विकासका लागि प्रतिष्ठान सँगै रहेको अनुभूति भएको बताउनु भयो ।
उहाँले तालिमले स्थानीय तहमा उद्यमशीलता विकासका लागि ज्योतिका रूपमा काम गर्ने र स्थानीय उत्पादन प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
साथै, पोखरा महानगरभित्रका कर्मचारी र सरोकारवालालाई क्षमता र सीप विकाससम्बन्धी तालिम आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिम प्रतिष्ठानबाट निरन्तर प्रदान हुनुपर्ने धारणा राख्नु भयो ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले स्थानीय तहको आयोजना र जिपिटिए सहजीकरणमा टिओटी तालिम पहिलो पटक सञ्चालन गरिएको जानकारी दिनु भयो ।
उहाँले यस किसिमको सहजीकरणले सङ्घीयता सवलीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै तालिमका लागि छनोट भएका प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
तालिममा प्रशिक्षकका रूपमा प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना तथा प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले प्रशिक्षार्थीहरूको क्षमता विकाससँगै सफल उद्यमी बन्न आवश्यक सहजीकरण सीप प्रदान गरिनेमा जोड दिनु भयो ।
निर्देशक तिमिल्सिनाले प्रतिष्ठानले प्राप्त गरेको आइएसओ स्ट्यान्डर्ड ९००१:२०१५ को कार्यविधिभित्र रहेर तालिम सञ्चालन हुने जानकारी दिनु भयो ।
तालिममा सहभागी प्रशिक्षार्थी मौसम तिमिल्सिनाले पोखरामै उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण प्राप्त गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनु भयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले तालिमबाट ज्ञानसँगै उद्यमशीलतासँग सम्बन्धित सीप विकास हुने अपेक्षा व्यक्त गर्नु भयो ।
उहाँका अनुसार स्थानीय स्तरको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यसहित स्थानीय तहकै उद्यमशील प्रशिक्षक उत्पादन गर्नु तालिमको मुख्य लक्ष्य हो । यसले स्थानीय जनशक्ति उत्पादनमा कोसेढुङ्गा सावित हुने विश्वास उहाँले व्यक्त गर्नु भयो ।
पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्रको सभाहलमा सञ्चालन भइरहेको उक्त तालिममा विभिन्न क्षेत्रका १८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेश सरकारको तालिम तथा अनुसन्धान प्रदायक एक स्वायत्त संस्था रहेको जानकारी प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले दिनु भयो ।
उहाँका अनुसार प्रतिष्ठानले सेवाकालीन, सेवा प्रवेश तथा प्रदेशभित्रका कर्मचारी र जनप्रतिनिधिको क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ ।
हाल प्रदेश र स्थानीय तहको साझेदारीमा विभिन्न तालिम तथा अनुसन्धानका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
कार्यक्रम पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो ।