पोखरा । पोखरा महानगरपालिका–८, सिमलचौरमा अवस्थित सुविधा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औँ वार्षिक उत्सव तथा रजत महोत्सव २०८२ माघ ३ गते विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
महोत्सवको उद्घाटन गर्दै सहकारीका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सहकारी अभियानले समाजमा आर्थिक सहभागिता र आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो ।
उहाँले सहकारीलाई पारदर्शी, विधिसम्मत र सदस्य–केन्द्रित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरूमध्ये अध्ययनतर्फ उत्कृष्ट उपलब्धि हासिल गरेका लेखनाथ पौडेलको काव्य अद्वैत वेदान्त विषयमा विद्यावारिधि गर्नुभएका संस्थाका सल्लाहकार प्राध्यापक बोधराज ढकालसहित उत्कृष्ट विद्यार्थी तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष विरेन्द्र नारायण बिजुक्छे, कास्की बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ईश्वर सुवेदी, सराङकोट बहुउद्देश्य सहकारी संस्थाका पूर्व अध्यक्ष कृष्णबहादुर थापा, सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शारदा गिरी, परोपकार सहकारी संस्थाका अध्यक्ष सोमनाथ बराल, पूर्व अध्यक्ष विश्वकुमार बिजुक्छे, निवर्तमान अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष राजु पौडेल, कोषाध्यक्ष उमा पराजुली तथा कार्यकारी निर्देशक सुशील बिजुक्छे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले सहकारी एकता, विधिसम्मत नियमको पालना र संस्थागत सुशासनमा जोड दिनुभएको थियो ।
सहकारीका सचिव वीरबहादुर अधिकारीले स्थानीय युवाहरूको पहलमा स्थापना गरिएको संस्थाले हालसम्म करिब २८ करोड रुपियाँको कुल कारोबार गर्दै विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रूपमा योगदान पुर्याउँदै आएको जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष कृष्णमान ठुसाजुले रजत वर्षको अवसरमा २०८२ माघ ४ गते रक्तदान कार्यक्रम, उपसमितिका लागि प्रशिक्षण तथा शेयर सदस्य र कर्मचारीका लागि स्वास्थ्य बीमा योजना सञ्चालन गरिने जानकारी दिनु भयो ।