मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

कर्मफ्लाइट्सद्वारा रुकुम पूर्वका विद्यालयमा पुस्तक र न्यानो सामग्री वितरण

पोखरा । कर्मफ्लाइट्स फाउण्डेशन नेपालले काठमाडौंस्थित मेटल फर नेपालको आर्थिक साझेदारी तथा रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिकाको समन्वयमा सिस्ने गाउँपालिका–१ का ६ ओटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो ज्याकेट, जुत्ता, पुस्तक, मिन्सुरेशन प्याड तथा खेल सामग्री वितरण गरेको छ ।

कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत करिब ७ सय ६० जना विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थितिमा सामग्री वितरण गरिएको हो ।

कर्मफ्लाइट्स फाउण्डेशनका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले हिमाली तथा विकट क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सेवा गर्न पाउँदा आफू निकै उत्साहित भएको बताउनु भयो ।

उहाँले यस कार्यक्रमले विद्यार्थीहरूको पठन–पाठन अभियानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

मेटल फर नेपालका कार्यक्रम निर्देशक फ्लावर केसीले विकट क्षेत्रसम्मको कठिन यात्रा विद्यार्थीहरूको खुसीले बिर्साएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता क्षेत्रमा पुनः काम गर्न चाहेको बताउनु भयो ।

हिमालय माध्यमिक विद्यालय पाखापानीका प्रधानाध्यापक उमेश खड्काले अपेक्षा गरेभन्दा बढी सहयोग प्राप्त भएको भन्दै आफू र विद्यार्थीहरू निकै खुसी भएको प्रतिक्रिया दिनु भयो ।

नवज्योति मावि बल्लेचौर, आधारभूत विद्यालय सिस्नेपोखरी, हिमालय आधारभूत विद्यालय ओख्रेना, आधारभूत विद्यालय लामपाखा र सिस्ने आधारभूत विद्यालय रतुवामारेका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले कर्मफ्लाइट्सले अन्य संस्थाले नगरेको उदाहरणीय कार्य गरेको बताएका छन् ।

विद्यालयगत रूपमा गरिएको वितरणअनुसार हिमालय मावि पाखापानीमा ४ लाख ६२ हजार ५ सय ६० रुपियाँ बराबरको न्यानो ज्याकेट, जुत्ता तथा खेल सामग्री वितरण गरिएको छ ।

नवज्योति मावि बल्लेचौरमा अध्ययनरत २ सय ६ जना विद्यार्थीलाई ३ लाख ९५ हजार ५ सय २० रुपियाँ बराबरको सामग्री तथा ५० जना छात्रालाई ५ हजार रुपियाँ बराबरको मिन्सुरेशन प्याड प्रदान गरिएको छ ।

त्यसैगरी आधारभूत विद्यालय सिस्नेपोखरीका १ सय २६ जना विद्यार्थीलाई १ लाख १ हजार ९ सय २० रुपियाँ बराबरको न्यानो सामग्री र ५५ हजार रुपियाँ बराबरका पुस्तक, हिमालय आधारभूत विद्यालय ओख्रेनाका ८५ जना विद्यार्थीलाई १ लाख ६३ हजार २ सय रुपियाँ, आधारभूत विद्यालय लामपाखाका ८४ जना विद्यार्थीलाई १ लाख ६१ हजार २ सय ८० रुपियाँ र सिस्ने आधारभूत विद्यालय रतुवामारेका २६ जना विद्यार्थीलाई ४९ हजार ९ सय २० रुपियाँ बराबरको सामग्री वितरण गरिएको छ ।

६ ओटा विद्यालयमा गरी कुल १५ लाख २४ हजार २ सय रुपियाँ बराबरको न्यानो ज्याकेट, जुत्ता, पुस्तक तथा खेल सामग्री वितरण गरिएको कर्मफ्लाइट्सले जनाएको छ ।

कार्यक्रममा निर्वतमान प्रदेश सांसद रमेश पौडेल, मेटल फर नेपालका फ्लावर केसी, शिल्पा मास्के, सुशील कारनजित, कर्मफ्लाइट्सका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवर, प्रबन्ध निर्देशक रेनुका कार्की, फिल्ड को–अर्डिनेटर राजु परियार, आइसीटी अफिसर सुवास पौडेल, दाता सोभित प्रताप ठकुरी, रुकुम पूर्वका जिल्ला कार्यक्रम संयोजक कर्मसही घर्ती मगर, डकुमेन्ट्री टिमका पुजन लामा, सुरज तिमल्सिना र विपिन परियारलगायतको उपस्थिति रहेको थियो ।

Author

Share the News

Recent News

Related News