पोखरा । “मर्यादित सहकारी : समुन्नत समाज” भन्ने मूल नारासहित २०५८ सालमा स्थापना भएको परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा महानगरपालिका–८, सृजनाचोकको २४औँ वार्षिक साधारण सभा २०८२ साल पुस २६ गते सम्पन्न भएको छ ।
साधारणसभाका प्रमुख अतिथि तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) की केन्द्रीय सञ्चालक कमलादेवी गिरीले सहकारीका आबद्ध सदस्यहरूले आफ्नो सहकारीको अवस्था, बचत तथा कर्जाको समय–समयमा समीक्षा र अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले पछिल्लो समय वर्षको एक दिन साधारणसभामा सहभागी भएर नाफा मात्र खोज्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नु भयो ।
सहकारी जोगाउने मुख्य जिम्मेवारी शेयर सदस्यकै भएको बताउँदै उहाँले सञ्चालक समिति र कर्मचारीमाथि दोषारोपण गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नु भयो ।
समुदायमा आधारित सहकारीको अवधारणामा जोड दिँदै सहकारीमा सदस्यहरूको वर्गीकरण गरी स्वार्थी, निष्क्रिय र असल सदस्य छुट्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
वार्षिक साधारण सभामा सहकारीका अध्यक्ष सोमनाथ बरालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा २०८२/०८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भयो ।
त्यस्तै, कोषाध्यक्ष पुष्पराज सिग्देलले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक गंगाबहादुर थापाले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदनहरूमाथि छलफलपछि सभाले सर्वसम्मत रूपमा पारित गरेको सहकारीका प्रबन्धक तोयराज बरालले जानकारी दिनु भयो ।
आर्थिक अवस्था प्रस्तुत गर्दै कोषाध्यक्ष सिग्देलले आर्थिक वर्ष २०८१/०८२ सम्म सहकारीको शेयर पुँजी ३ करोड ४६ लाख ८ हजार ५ सय रुपैयाँ पुगेको जानकारी दिनु भयो ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ सम्म शेयर पुँजी ३ करोड ४५ लाख २२ हजार ५ सय रुपैयाँ रहेको थियो ।
त्यसैगरी चालु आर्थिक वर्षमा सहकारीको कुल निक्षेप १० करोड १ लाख ५९ हजार ७ सय ४३ रुपियाँ पुगेको छ भने गत आर्थिक वर्षमा कुल निक्षेप १० करोड ५३ लाख ३१ हजार ७ सय ३७ रुपियाँ रहेको थियो ।
सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ७० लाख ८५ हजार रुपियाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य पोखरा–८ की खिमावती बराल, उत्कृष्ट कर्जा कारोबारतर्फ पोखरा–८ की तिलकुमारी गिरी र पोखरा–७ का नारायणप्रसाद शर्मा सम्मानित हुनुभएको थियो ।
सहकारीका पूर्व अध्यक्ष तथा अधिकारकर्मी विष्णुप्रसाद बरालले “एक व्यक्ति, एक सहकारी” को अवधारणा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सहकारी नाफामुखी मात्र नभई सेवामूलक भावनाबाट सञ्चालन हुनुपर्ने बताउनु भयो ।
केही सीमित व्यक्तिका कारण सहकारीहरू धरासायी हुँदै गएको अवस्थामा सबै सहकारीकर्मीले साझा धारणा बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सल्लाहकार डा. श्रीकान्त शर्मा खतिवडा, विनियम पुनर्लेखन समितिका संयोजक प्रेमराज गिरी, सहकारी शिक्षा समिति तथा तालिम उपसमितिकी सदस्य सीता भट्टराई लगायत वक्ताहरूले बचत र ऋणको सही परिचालन नै सहकारीको मूल मूल्य–मान्यता भएको उल्लेख गर्दै पदाधिकारीहरूले कर्तव्यबोधका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
सहकारीका अध्यक्ष सोमनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष गीता गौतम पौडेलले राख्नुभएको थियो भने सञ्चालन सचिव वसन्तप्रसाद चालिसेले गर्नुभएको थियो ।