ललितपुर । आधारभूत तहका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बागमती गाउँपालिका स्तरीय हाजिरीजबाफ प्रतियोगिता प्युटारमा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आस्राङ र गिम्दी क्षेत्रका नौ ओटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए ।
सहभागी विद्यालयहरूलाई पछाडि पार्दै गृह क्षेत्रमा रहेको प्युटारको कालीदेवी माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ ।
त्यस्तै गिम्दीको नारायणी माध्यमिक विद्यालयले दोस्रो तथा आस्राङको बाल मनोरमा आधारभूत विद्यालयले तेस्रो स्थान प्राप्त गरेका छन् ।
भट्टेडाँडाको भट्टेडाँडा आधारभूत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुने विद्यालय र विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र, नगद तथा अन्य पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पेशागत महासङ्घ नेपाल ललितपुरका सचिव नवराज सञ्जेलले विद्यार्थीहरूको क्षमता पहिचान र विकासका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै सिकाइ उपलब्धिमा समग्र सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।
बागमती गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष होमप्रसाद बजगाईँले विद्यार्थीहरूलाई निरन्तर रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्नेमा जोड दिनु भयो ।
प्रतियोगितामा माल्टाको कालीदेवी मावि, इकुडोलको जनजागृति मावि, आस्राङको विद्याधीश्वरी मावि, खैरेनी आधारभूत विद्यालय तथा बागमती आधारभूत विद्यालयको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समितिका सल्लाहकार नवराज सञ्जेल, जिल्ला उपाध्यक्ष हरिहर लामिछाने, जिल्ला सचिव दामोदर आचार्य, जिल्ला कोषाध्यक्ष दिलकुमार महर्जन, जिल्ला सदस्यहरू बाबुलाल घलान, रामप्रसाद बजगाईं, कपिन्द्र आचार्य, कालीदेवी माविका प्रधानाध्यापक ठाकुर लामा, शिक्षक हित सहकारीका सञ्चालक सदस्य तथा नारायणी माविका प्रधानाध्यापक इश्वर सञ्जेल, महालक्ष्मी सङ्गठन अध्यक्ष शेरबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
सहभागी विद्यार्थीहरूले हाजिरीजबाफ प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै पाठ्यक्रममा आधारित प्रश्नहरू भएकाले पढाइमा थप सहयोग पुगेको बताएका छन् ।
प्रतियोगितामा पहिलो हुने विद्यालयले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरद्वारा आयोजना गरिने जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगितामा सहभागिता जनाउनेछ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमतीका अध्यक्ष गोविन्दप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष थलप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव करणबहादुर चन्दले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।