मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

दक्षिण ललितपुरको उज्यालो यात्राले २५ वर्ष पूरा गर्‍यो, स्मारिकाको तयारी

ललितपुर । एक समय अन्धकार र दुर्गमताको पर्याय मानिएको दक्षिण ललितपुर आज विद्युतीय उज्यालोको पहिचानसहित उभिएको छ ।

यही परिवर्तनको यात्राले २५ वर्ष पूरा गरेको अवसरमा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले आफ्नो रजत जयन्तीलाई इतिहासका रूपमा अभिलेखीकरण गर्ने तयारी थालेको छ ।

२०५४ सालमा ग्रामीण विद्युतीकरण अभियानका रूपमा स्थापना भई २०५७ साल साउन १७ गते औपचारिक दर्ता भएको उक्त सहकारी नेपालकै पहिलो विद्युत सहकारीका रूपमा परिचित छ ।

सहकारीले महाङ्काल, कोञ्ज्योसोम र बागमती गाउँपालिका तथा गोदावरी नगरपालिका–७ सहित १९ वटा वडामा विद्युत सेवा विस्तार गर्दै दक्षिण ललितपुरको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आमूल परिवर्तन ल्याएको छ ।

रजत जयन्तीलाई औपचारिक कार्यक्रममै सीमित नराख्ने उद्देश्यसहित सहकारीले पुस २१ गते पत्रकार भेटघाट आयोजना गर्दै स्मारिका प्रकाशनको प्रारम्भिक प्रक्रिया अघि बढाएको हो ।

सहकारीका अनुसार स्मारिकाले विद्युतीकरणको इतिहास, प्रभाव, उपलब्धि र आगामी सम्भावनालाई समेट्नेछ ।

कार्यक्रममा सहकारीका अध्यक्ष गोविन्दप्रसाद बजगाईंले दक्षिण ललितपुरको करिब दुईतिहाइ भूभागमा विद्युत विस्तार हुनु आफैंमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नु भयो ।

उहाँले स्मारिकालाई केवल संस्थाको उपलब्धि नभई समग्र दक्षिण ललितपुरको विकास यात्राको दस्तावेजका रूपमा तयार गरिने स्पष्ट पार्नु भयो ।

सहकारीका सचिव लोकबहादुर पुलामी (दीपक)ले आगामी चैत महिनाभित्र स्मारिका प्रकाशन गर्ने र डिजिटल संस्करणसमेत सार्वजनिक गर्ने योजना रहेको जानकारी दिनु भयो ।

छलफलमा सहभागी पत्रकारहरूले विद्युतीकरणले जनजीवनमा ल्याएको परिवर्तनलाई तथ्य, तथ्याङ्क र विश्लेषणसहित प्रस्तुत गर्न सुझाव दिएका थिए ।

उज्यालोसँगै देखिएका नयाँ चुनौतीमा बसाइँसराइ, सेवा व्यवस्थापन र दिगोपनाका प्रश्नलाई पनि समेट्नुपर्नेमा उनीहरूको जोड थियो ।

रजत वर्षको अवसरमा प्रकाशन हुने स्मारिकाले दक्षिण ललितपुरमा विद्युतीकरणले खेलेको ऐतिहासिक भूमिकालाई अभिलेखीकरण गर्नुका साथै भावी नीति निर्माण, अध्ययन र अनुसन्धानका लागि सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ ।

Author

Related News