मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

छोरेपाटन मावि ४८औँ वर्षमा प्रवेश, विविध कार्यक्रमसहित ४७औँ वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले २०८२ पुस १७ गते ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ औपचारिक रूपमा सम्पन्न गरेको छ । यससँगै विद्यालय ४८औँ वर्षमा प्रवेश गरेको छ ।

कुल २ हजार १ सय ६ विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा हाल १ सय १० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले छोरेपाटन माविलाई समग्र पोखरा क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाको संज्ञा दिँदै अभिभावकको विश्वास र विद्यार्थी आकर्षणले त्यसको पुष्टि गरेको बताउनु भयो ।

साथै पातले छाँगो (डेभिडफल) सम्बन्धी विद्यालय प्रशासन र महानगरपालिकाबिच भएको सहमति अक्षरशः कार्यान्वयन हुने स्पष्ट पार्दै उक्त सम्झौता विद्यालय हितमै रहेको उल्लेख गर्नु भयो ।

वडा नं. १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले छोरेपाटन नमुना शैक्षिक संस्था रहेको बताउँदै विद्यार्थी आकर्षण विद्यालयको सबैभन्दा सबल पक्ष भएको भनाइ राख्नु भयो ।

उहाँले महानगरको शिक्षा विनियमअनुसार विद्यालय व्यवस्थापन समिति गठन भइसकेको र विद्यालयले बेरुजी घटाउँदै जानुपर्ने आवश्यकता औँल्याउनु भयो ।

समाजसेवी तथा निर्वतमान वडाध्यक्ष तीर्थराज अधिकारीले विद्यालय निर्माणमा अभिभावकको समेत दायित्व रहने भएकाले सबै एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर अधिकारीले सरोकारवाला सबैलाई समेटेर विद्यालयको संरचनात्मक विकासमा लाग्ने र छिट्टै व्यवस्थापन समितिलाई पूर्णता दिइने जानकारी दिनु भयो ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यालय निरन्तर प्रगतिपथमा रहेको उल्लेख गर्दै चार वर्षभित्र गण्डकी प्रदेशकै तथा नौ वर्षभित्र देशकै उत्कृष्ट विद्यालय बनाउने दीर्घकालीन योजनासहित विद्यालय अघि बढिरहेको बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य विक्रम गुरुङ, पूर्व सदस्य खेमराज आचार्य, भूपू विद्यार्थी मञ्चका अध्यक्ष सालिकराम भण्डारी, शिक्षक भोजराज बराल तथा विद्यार्थी रचना ढकाल र सोहन कार्की लगायतले छोरेपाटन मावि गर्व गर्न लायक शैक्षिक संस्था भएको बताउँदै सरोकारवाला सबैको सामूहिक प्रयासबाट मात्र यो सम्भव भएको धारणा राख्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक खेमराज बरालले स्वागत मन्तव्य तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले गर्नु भएको थियो ।

वार्षिकोत्सवको अवसरमा जुनियर रेडक्रस सर्कलको आयोजनामा नेपाल रेडक्रस सोसाइटी पोखरा–१७ उपशाखाको समन्वय तथा प्रदेश रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित खुला रक्तदान कार्यक्रममा २९ युनिट रगत सङ्कलन गरिएको छ ।

जुनियर रेडक्रस सर्कल अध्यक्ष सुवास सुवेदीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा शिक्षक नायक युवराज सुवेदीले स्वागत मन्तव्य दिनु भएको थियो भने जुरेस उपाध्यक्ष सुभानी पौडेल र सचिव अनुष्का ढकालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

विद्यालयका कर्मचारी दीपक सुवेदीले वि.सं. २०६४ सालदेखि विद्यालयमा प्रत्येक वर्ष खुला रक्तदान कार्यक्रम आयोजना हुँदै आएको जानकारी दिनु भयो । कार्यक्रममा शिक्षक, कर्मचारी तथा पूर्व विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो ।

Author

Related News