मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

फेवातालको तल्लो भाग सौन्दर्यीकृत हुँदै

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ र ६ को सिमाना क्षेत्रमा पर्ने फेवातालको तल्लो भाग गाईघाट क्षेत्रमा जम्मा भएको गेग्रान माटो तथा फोहोर हटाउने कार्य सुरु गरिएको छ ।

फिर्केखोला र बुलौदीखोलाबाट बगेर आई फेवातालमा थुप्रिएको गेग्रान माटो र फोहोर विगत एक हप्तादेखि निकाल्न थालिएको पोखरा महानगरपालिकाका इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।

उहाँका अनुसार २०८२ पुस १७ गतेसम्म करिब २ हजार टिपर माटो निकालिएको छ । निकालिएको माटोलाई महानगरपालिकाको संरक्षणमा कोमागाने पार्क क्षेत्रमा व्यवस्थापन गरिएको छ ।

फेवातालको तल्लो भागमा स्थानअनुसार एकदेखि चार मिटर गहिराइसम्म जमेको माटो निकाल्ने कार्य भइरहेको छ ।

यसका लागि पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सो कार्य फुलवारी विकास एण्ड इन्भेस्टमेन्ट प्रालिले १८ लाख ७० हजार ४ सय ८२ रुपैयाँ ५६ पैसाको लागतमा ठेक्कामार्फत सुरु गरेको हो ।

खोला–खाल्साबाट बगेर आउने फोहोरजन्य वस्तु रोक्न गाईघाट क्षेत्रमा २३ मिटर लामो चेक ड्याम निर्माण गरिने योजना रहेको पनि इन्जिनियर तिमिल्सिनाले बताउनु भयो ।

तथ्याङ्कअनुसार फेवातालको मुहान मानिने खोलाहरूबाट वर्षेनी एक लाख ४२ हजार घनमिटरभन्दा बढी माटो तालमा मिसिने गरेको छ । यसले तालको सतह घट्दै जानुका साथै अतिक्रमण बढ्दै गएको जनाइएको छ ।

फेवाताल वरपर रहेका २९ ओटा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा, प्लास्टिकलगायत फोहोर तालमा आउने गरेको छ ।

फेवातालको मापदण्ड कार्यान्वयनका लागि गठित सहजीकरण समितिका अनुसार फेवाताल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४ सय ६८ रोपनी ३ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको छ ।

गेग्रान माटो र फोहोर हटाइएपछि गाईघाट क्षेत्र फेवाताल पुरिनबाट जोगिन सहयोग पुग्ने र क्षेत्र क्रमशः सौन्दर्यीकृत हुँदै जाने इन्जिनियर तिमिल्सिनाले बताउनु भयो ।

नागरिक समाज कास्कीका संस्थापक अध्यक्ष सामाजिक अभियान्ता रामबहादुर पौडेलले फेवाताल संरक्षण र सरसफाइ सगै यस क्षेत्रको वातावरणी सवालमा सरोकारवाला निकायलाई खबरदारी गर्दै आउनु भएको थियो । महानगरको यस सकारात्मक कार्यको प्रशंसा गर्नु भएको छ ।

Author

Related News