रुद्रबहादुर खड्का, सिन्धुली ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माण ढिलाइ हुन नदिन नयाँ टेन्डर प्रक्रिया शीघ्र अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनालाई निर्देशन दिनुभएको छ ।
सिन्धुलीस्थित आयोजनाको स्थलगत निरीक्षणका क्रममा मन्त्री घिसिङले ठेक्का सम्झौता तोडिएपछिको साइटको अवस्था, हालसम्म सम्पन्न काम, बाँकी संरचना तथा नयाँ टेन्डर तयारीको प्रगतिबारे जानकारी लिँदै निर्माणमा कुनै ढिलाइ हुन नहुने स्पष्ट पार्नुभएको हो ।
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको बाँध, विद्युत् गृहसहितका सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानको कामको ठेक्का पटेल–रमण जेभीसँग तोडिएपछि आयोजनाले सम्पूर्ण निर्माणस्थल नियन्त्रणमा लिएको छ ।
हालसम्म भएको काम, साइटमा रहेका उपकरण, बाँकी तथा थप गर्नुपर्ने कार्यको मूल्याङ्कन गरी लागत अनुमान तय गर्ने र सोही आधारमा नयाँ टेन्डरका कागजात तयार गर्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।
आयोजनाले २४ कात्तिकमा उक्त प्याकेजको ठेक्का सम्झौता तोड्ने सम्बन्धमा १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
सम्झौताअनुसार मङ्सिर ८ गतेदेखि ठेक्का औपचारिक रूपमा तोडिएको हो । त्यसपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय र निर्माण क्षेत्र आयोजनाको नियन्त्रणमा लिइएको छ ।
रामछापको मन्थली नगरपालिका–६, सेलेघाटस्थित हेडवर्क्स निर्माण क्षेत्रको सोमबार निरीक्षण गर्दै मन्त्री घिसिङले सुरुङ निर्माण सम्पन्न भइसकेको अवस्थामा आयोजना अल्झिन नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो-“हालसम्मको काम, बाँकी संरचना र निर्माणका क्रममा देखिएका थप कार्यसमेत समेटेर यथार्थ मूल्याङ्कन गर्नुपर्छ । त्यसकै आधारमा नयाँ तालिकासहित निर्माण सम्पन्न हुने सुनिश्चित गर्दै नयाँ टेन्डर प्रक्रिया तत्काल अघि बढाइनुपर्छ ।”
ठेक्का सम्झौताको करिब ६१ प्रतिशत अवधि सकिँदासमेत भौतिक प्रगति करिब १० प्रतिशतमा सीमित रहनु, काममा तदारुकता नदेखिनु तथा सुधारका लागि जारी गरिएको सूचनाप्रति समेत चासो नदिइएकाले पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएको आयोजनाले स्पष्ट पारेको छ ।
उक्त आयोजनाको निर्माणका लागि पटेल–रमण जेभीसँग १४ अर्ब ८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।