पोखरा । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आगामी निर्वाचनमार्फत सही नेतृत्व छानी सरकार र संसदमा पठाउन सबै नागरिकलाई आह्वान गर्नुभएको छ ।
उहाँले निर्वाचनलाई देशलाई सही दिशा दिने नेतृत्व चयन गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताउनु भयो ।
‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा सम्पन्न २७ औँ संस्करणको पोखरा सडक महोत्सवको औपचारिक उद्घाटन समारोहमा बोल्दै मन्त्री घिसिङले यस्तो धारणा राख्नुभएको हो ।
महोत्सवको उद्घाटन उहाँले २०८२ पुस १३ गते पोखरा महानगरपालिका–६, बैदामस्थित लेकसाइड क्षेत्रमा गर्नुभएको थियो ।
मन्त्री घिसिङले गण्डकी प्रदेशको राजधानी एवम् प्रमुख पर्यटकीय गन्तव्य पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न वर्तमान तथा आगामी सरकारले समेत जिम्मेवारपूर्वक पहल गर्नुपर्ने बताउनु भयो ।
हवाई सम्पर्क विस्तारसँगै पर्यटक आगमन उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकार सक्रिय रहेको जानकारी दिनु भयो ।
उहाँले पोखरामा गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न अन्डरग्राउण्डिङ लगायतका कार्य अन्तिम चरणमा पुगेको, १ सय मिलियन लागतको ग्रिन करिडोर परियोजना सञ्चालनमा रहेको तथा २ सय २० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको बताउनु भयो ।
पोखरा क्षेत्रमा २४ सै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्न ठुलो प्रणाली निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उहाँको भनाइ थियो ।

सडक पूर्वाधारका सन्दर्भमा मन्त्री घिसिङले ठेक्का सम्झौता अनुसार काम छिटो सम्पन्न गर्न ठेकेदार कम्पनीहरूलाई दबाब दिइरहेको उल्लेख गर्नु भयो ।
पोखरा–बुटवल सडक खण्ड सहज सञ्चालनका लागि सिद्धबाबा सुरुङ मार्ग निर्माणबारे विभिन्न चरणका अध्ययन भइरहेको जानकारी पनि उहाँले दिनु भयो ।
कार्यक्रममा मन्त्री घिसिङले ‘उज्यालो नेपाल’ निर्माणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै देशका सबै क्षेत्र उज्यालो बनाउन, सुशासन कायम गर्न र गरिबी हटाउँदै समृद्धि हासिल गर्न योग्य नेतृत्व संसद र सरकारमा पुग्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
साथै, फेवाताल संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।
उद्घाटन समारोहमा गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल वस्याल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई देशकै पर्यटकीय राजधानीका रूपमा विकास गर्ने अभियानमा महानगरपालिका पर्यटन व्यवसायीसँग सधैँ सहकार्य गर्दै आएको बताउनु भयो ।