मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा पोखरामा २७औँ सडक महोत्सव

पोखरा । अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा २७औँ संस्करणको सडक महोत्सव आयोजना हुने भएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा महोत्सव गर्न लागिएको हो ।

रेवान पोखराले २०८२ पुस ११ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

महोत्सव २०८२ पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा महानगरपालिका–६ बैदामस्थित लेकसाइड क्षेत्रमा सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशको प्रमुख पर्यटकीय केन्द्र पोखराको लेकसाइडमा हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको यो महोत्सव यस वर्ष पनि पुस १३ गतेदेखि सुरु हुने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनु भयो ।

उहहाँका अनुसार लेकसाइडको खहरेदेखि अम्बोटसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा सडकमै विभिन्न खानाका परिकारहरू पाक्नेछन् ।

अध्यक्ष पौडेलले कला र संस्कृतिको प्रवर्धन, स्थानीय उत्पादनको बजारीकरण, पोखरा तथा लेकसाइडको प्रचारप्रसार, व्यापार विस्तार र पोखराको ब्रान्डिङ गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनु भयो ।

“महोत्सव संस्कृतिजस्तै बनेको छ। यसले अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पोखराको प्रचारप्रसार र ब्रान्डिङमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ,” उहाँले भन्नु भयो ।

कार्यक्रम संयोजक वसन्त गौतमका अनुसार सडक महोत्सवका मुख्य आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरूको प्रदर्शनी, लाइभ कन्सर्ट, खेलकुद कार्यक्रमअन्तर्गत डुंगा दौड, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम र ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् ।

महोत्सव अवधिभर पोखराको पर्यटन विकास, सम्भावना, अवसर र चुनौतीका विषयमा अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरिने उहाँले जानकारी दिनु भयो ।

पोखरा सेरोफेरोका स्थानीय रूपमा उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति र अन्य कृषि उपजलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिनेछ ।

अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङका अनुसार यस वर्ष न्यू इयर ईभ अर्थात् पुस १६ गते एक्स–नेपथ्य, उज्जन शाक्य, डिमर्चा, लेकाली र देउराली ब्याण्डको लाइभ प्रस्तुति रहने विशेष साङ्गीतिक उत्सव आयोजना हुनेछ ।

त्यस्तै पुस १५ गते तमु समुदायको सांस्कृतिक पर्व ल्होसार विशेष कार्यक्रम पनि समावेश गरिएको छ ।

रेवान पोखराका अध्यक्ष पौडेलले स्थानीय प्रशासनबाट अनुमति मिले महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको आतिसबाजी (फायरवर्क्स) यस वर्ष पनि गरिने जानकारी दिनु भयो ।

लेकलाईड न्यू ईयर ईभमा भाइरल डान्सर आश्मा विश्वकर्माको डान्स पनि हेर्न पाइने बयोजकले जनाएको छ ।

Author

Related News