मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्युटारमा ब्याडमिन्टनले जुटायो युवा उत्साह

ललितपुर । दक्षिण ललितपुरको प्युटारमा ब्याडमिन्टनमार्फत युवाहरूलाई एकताबद्ध गर्ने प्रयासले मूर्त रूप लिएको छ ।

बागमती गाउँपालिका वडा नं. ४ ले आयोजना गरेको दोस्रो वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता–२०८२ भव्य उद्घाटन समारोहसहित सुरु भएको छ ।

प्रतियोगिता पुस १०, ११ र १२ गतेसम्म श्री कालीदेवी माध्यमिक विद्यालयको हलमा सञ्चालन भइरहेको छ ।

स्थानीय तहमा खेलकुद संस्कृतिको विकास गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यसहित सुरु गरिएको प्रतियोगिताले यस क्षेत्रका युवामाझ उल्लेखनीय उत्साह सिर्जना गरेको छ ।

सीमित स्रोतसाधनका बाबजुद पनि निरन्तर दोस्रो संस्करणसम्म आइपुगेको यस प्रतियोगितालाई दक्षिण ललितपुरकै लागि उदाहरणीय पहलका रूपमा हेरिएको छ ।

वडा अध्यक्ष रामकुमार लामाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भयो ।

कार्यक्रममा बोल्दै उहाँले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र आपसी सद्भाव विकास गर्ने उल्लेख गर्नु भयो ।

साथै आगामी दिनमा गाउँपालिकाले खेलकुद क्षेत्रमा थप बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रतियोगितामा बागमती गाउँपालिकाका विभिन्न वडासहित छिमेकी बकैया गाउँपालिका, मकवानपुरका टिमहरू गरी जम्मा २० टिम सहभागी छन् ।

लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका खेलहरू हरेक दिन बिहान ८ बजे र दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई अझ आकर्षक बनाउन नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमले रु. २० हजार, दोस्रो हुने टिमले रु. १० हजार, तेस्रो हुने टिमले रु. ५ हजार र सान्त्वना स्थाल हासिल गर्ने टिमले रु. २ हजार ५ सय प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई विशेष सम्मान प्रदान गरिनेछ

वडा अध्यक्ष लामाले खेलकुद युवाहरूलाई लागूऔषध दुर्व्यसन र नकारात्मक गतिविधिबाट टाढा राख्ने प्रभावकारी माध्यम भएको बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने स्पष्ट गर्नु भयो ।

आयोजकले स्थानीयवासी, खेलप्रेमी तथा अभिभावकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ ।

प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्दै आत्मविश्वास र खेलकुदप्रतिको रुचि बढाउने विश्वास आयोजकले लिएको छ ।

Author

Related News