मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

लामिछाने थापा क्षेत्रीको पश्चिम क्षेत्रीय भेला सराङकोटमा सम्पन्न

पोखरा । नेपालको जनसङ्ख्यामा क्षेत्रीको जनसङ्ख्या सबैभन्दा धेरै रहेको छ । तीमध्ये पनि थापा क्षेत्रीको बहुल्यता उल्लेखनीय रहेको बताइन्छ ।

“बन्धुत्व विकास र सामाजिक अग्रसरता” भन्ने मूल नारासहित स्थापित लामिछाने थापा क्षेत्री गर्ग गोत्रीय समाजको पश्चिम क्षेत्रीय भेला २०८२ पुस ५ गते पोखरा महानगरपालिका–१८, सराङकोटमा सम्पन्न भएको छ ।

भेलाको उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष श्यामबहादुर थापाले सद्भाव र एकताको प्रतीकस्वरूप उद्गम स्थलमा कार्यक्रम आयोजना गरिनु थापा क्षेत्री समाजको मजबुत एकताको सङ्केत भएको बताउनु भयो ।

उहाँले अग्रज पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा तथा लोककवि धर्मराज थापा यही क्षेत्रबाट जन्मिएका व्यक्तित्व भएको स्मरण गर्दै उनीहरूको योगदानको सम्मानस्वरूप अन्य विशिष्ट थापाहरूको खोज, अध्ययन र सङ्कलन कार्य निरन्तर भइरहेको जानकारी दिनु भयो ।

पश्चिम क्षेत्रीय अध्यक्ष बेलबहादुर थापाले पोखरा–सराङकोटलाई लामिछाने थापा क्षेत्रीको उद्गम स्थलका रूपमा लिइने उल्लेख गर्दै करिब दुई सय वर्षअघि यही क्षेत्रबाट थापा क्षेत्रीहरू देशभर फैलिएको धारणा राख्नु भयो ।

कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले समाजलाई परिवारझैँ एकताबद्ध बनाएर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

त्यस्तै, क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले क्षेत्री भएकै कारण अध्ययन र रोजगारीमा आरक्षणका नाममा अवसरबाट वञ्चित हुनुपरेको अवस्थालाई दुःखद् भन्दै, सबै जातिका नागरिकले परीक्षा पास गरेपछि समान अवसर पाउनुपर्ने अभियानमा समाज सक्रिय रहेको बताउनु भयो ।

समाजका महासचिव यामबहादुर थापाले हालसम्म ३५ जिल्लामा वंशावली सङ्कलन, समाज घर निर्माण, अक्षयकोष वृद्धि तथा विभिन्न प्रकाशन कार्यमा समाज संलग्न रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा कवियात्री लक्ष्मी थापाद्वारा लिखित कविता सङ्ग्रहको विमोचन गरिएको थियो भने पोखरा महानगरपालिका–२६ का अध्यक्ष नरेन्द्र थापालाई सम्मान गरिएको थियो ।

भेलामा कुल मन्दिर मूल व्यवस्थापन समिति अध्यक्ष मिनबहादुर थापा, सल्लाहकार डा. प्रेमबहादुर थापा, क्याप्टेन कृष्णबहादुर थापा, क्याप्टेन शमरबहादुर थापा, उपाध्यक्ष मोहनबहादुर थापा, ज्योति कुमार थापा, कोषाध्यक्ष वीरबहादुर थापा, सचिव यामबहादुर थापालगायतले क्षेत्रगत तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजले सामाजिक तथा रचनात्मक कार्यमा अझ सक्रिय रहनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

Author

Related News