मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

भ्रष्टाचार अन्त्य र निकासका लागि निर्वाचन अपरिहार्य: नेकपा अध्यक्ष प्रचण्ड

रुद्रबहादुर खड्का, काठमाडौं ।

देशमा बढ्दो भ्रष्टाचारको अन्त्य र राजनीतिक निकासका लागि समयमै निर्वाचन अपरिहार्य भएको पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले २०८२ पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले लोकतान्त्रिक, गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

“लोकतान्त्रिक गणतन्त्रको रक्षा आजको मुख्य चुनौती हो ।”-उहाँले भन्नु भयो-“छरिएर रहेका वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प छैन ।”

“लोकतान्त्रिक, गणतन्त्र पक्षधरहरूको एकता” भन्ने मूल नारासहित आयोजित उक्त सभाले नेपाली राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको आयोजकको दाबी छ ।

सभामा प्रचण्डले प्रतिगमनकारी शक्तिहरूविरुद्ध अन्तिम लडाइँको समय आएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध आवाज उठाउन सबैलाई आह्वान गर्नु भयो ।

वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले सुशासनको गम्भीर अभाव देखिएको बताउनु भयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि भइरहेका आक्रमण चिर्न देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिनु भयो ।

साथै, जेनजी युवासँग आफूहरू प्रतिस्पर्धी नभई अभिभावक बन्न चाहेको उल्लेख गर्दै युवालाई लोकतान्त्रिक आन्दोलनमा सहभागी हुन आग्रह गर्नु भयो ।

प्रचण्डले केही शक्तिहरूले निर्वाचन विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै भन्नु भयो-“निर्वाचन नै आजको समाधान हो । अन्य विकल्पमा जानु देशका लागि झनै खतरनाक हुन सक्छ।”

उहाँले सरकारलाई कुनै बहाना बनाएर निर्वाचनको मिति नसार्न चेतावनी दिनु भयो । संविधान फेरि मिच्ने प्रयास भए कम्युनिष्ट पार्टी चुप नलाग्ने उहाँको स्पष्ट चेतावनी थियो ।

सभा गर्न काठमाडौंको खुलामञ्च उपलब्ध नगराइनु लज्जास्पद भएको टिप्पणी गर्दै उनले खुलामञ्च नागरिकका लागि खुला हुनुपर्ने माग गर्नु भयो ।

सो क्रममा उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयरप्रति टिप्पणी गर्दै लोकतन्त्रको ‘फूल’ भनेर चिनेका नेताहरू विस्तारै ‘काँडा’ बन्न थालेको जस्तो देखिएको अभिव्यक्ति दिनु भयो ।

आफ्नो पार्टीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न चाहेको बताउँदै प्रचण्डले संविधानसँग खेलबाड भए जनयुद्ध र जनआन्दोलनको एकीकृत शक्ति पुनः सडकमा आउने चेतावनी दिनु भयो ।

“६ महिना वा १ वर्ष समय थप्ने हल्लाले देश फेरि दुर्घटनातर्फ जान सक्छ ।”उहाँले भन्नु भयो-“त्यस्तो अवस्था आयो भने ७७ वटै जिल्लाबाट समाजवादी आन्दोलनको झण्डा बोकेर सडकमा उत्रिन्छौँ ।”

उक्त सभालाई सम्बोधन गर्दै पार्टीका सह–संयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी इमानदारीपूर्वक अघि बढिरहेको दाबी गर्नु भयो ।

गणतन्त्र स्थापना, संविधान निर्माण र विकासका काममा पार्टीले खेलेको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गर्दै उहाँले भन्नु भयो-“एक पटक जनताले हामीलाई मौका दिनुहोस्, आगामी निर्वाचन नै हाम्रो अग्निपरीक्षा हुनेछ ।”

देश विकास, इमानदार राजनीति र राष्ट्रप्रतिको निष्ठाका आधारमा आफूहरूले अहिलेसम्म भूमिका निर्वाह गर्दै आएको सह–संयोजक नेपालको भनाइ थियो ।

Author

Related News