काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ ।
आयोगले २०८२ पुस २ गते सात ओटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरेको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
उहाँले प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको र तोकिएका मतदानस्थलमा दुई–दुई ओटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको बताउनु भयो ।
जसमा निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ भने मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।
