मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरा महानगरले मनायो ६७ औँ स्थापना दिवस

पोखरा । ऐतिहासिक तथ्य र अभिलेखका आधारमा पोखरा महानगरपालिकाले यस वर्षदेखि आफ्नो स्थापना दिवसको मिति परिमार्जन गर्दै ६७ औँ स्थापना दिवस औपचारिक कार्यक्रमकाबिच मनाएको छ ।

अभिलेखअनुसार वि.सं. २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको पुष्टि भएपछि महानगरले २०८२ पुस २ गते स्थापना दिवस मनाएको हो ।

यसअघि पोखरा महानगरले हरेक वर्ष फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको थियो । नगर प्रमुख धनराज आचार्यका अनुसार अभिलेख अध्ययन गर्दा तत्कालीन ५ हजार जनसङ्ख्या भएको नगरका रूपमा २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको तथ्य भेटिएपछि सोही मितिलाई आधार मानेर स्थापना दिवस मनाउने निर्णय गरिएको हो ।

स्थापना दिवसको अवसरमा महानगरले विभिन्न क्षेत्रबाट उल्लेखनीय योगदान पुर्‍याउने नौ जना विशिष्ट व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ ।

यसअघि महानगरले २०५५ र २०५९ सालमा पनि नवरत्न सम्मान प्रदान गरेको थियो । कार्यविधिअनुसार पोखरा महानगरभित्र स्थायी ठेगाना भई मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिलाई मात्रै यो सम्मान प्रदान गरिने व्यवस्था छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नगर प्रमुख धनराज आचार्यलगायतले सम्मानित व्यक्तित्वलाई जनही २ लाख २ हजार २ सय २ रुपियाँ नगद, ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा साहित्यतर्फ संस्कृतिविद् तीर्थ श्रेष्ठ, सङ्गीत तथा गायनतर्फ नेपथ्य ब्याण्डका अगुवा अमृत गुरुङ, उद्यमशीलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा तथा उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा.डा. बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल तथा पत्रकारितातर्फ तिलकमान गुभाजु रहनु भएको छ ।

सम्मानितहरूको तर्फबाट संस्कृतिविद् तीर्थ श्रेष्ठले यो सम्मानले आफूहरूलाई पोखरा र राष्ट्रका लागि अझै योगदान दिन थप ऊर्जा र उत्साह मिलेको प्रतिक्रिया व्यक्त गरे । हालसम्म पोखरेली नवरत्न सम्मान प्राप्त गर्नेहरूको सङ्ख्या ३० पुगेको छ ।

यसै अवसरमा महानगरपालिकामा कार्यरत कर्मचारीहरूमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जनालाई सम्मान गरिएको छ ।

साथै, ३३ वडामध्ये सरसफाईमा उत्कृष्ट तीन वडा, महानगर मातहतका उत्कृष्ट कार्यालय तथा समयमै र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिएको महानगरले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई ‘महानगर मातापिता’ सम्मान प्रदान गरिएको छ । पोखरा महानगरपालिका–२८ की १०७ वर्षीया झ्याउरी तिमिल्सिनालाई महानगर माता र पोखरा–३२ का १०४ वर्षीय काशिनाथ पण्डितलाई महानगर पिताका रूपमा सम्मान गरिएको हो ।

२०१६ पुस २ गते नगरपालिकाका रूपमा स्थापना भएको पोखरा २०५२ माघ १८ गते उपमहानगरपालिका बनेको थियो ।

त्यसपछि २०७३ फागुन २७ गते साविकका पाँच गाविस र लेखनाथ नगरपालिकासहित गाभिएर पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो ।

२०७५ साउन २३ गतेको मन्त्रिपरिषद् निर्णयबाट यसको नाम पोखरा महानगरपालिका कायम गरिएको हो ।

स्थापना दिवसको अवसरमा चिप्लेढुङ्गाबाट सुरु भएको बृहत् सांस्कृतिक झाँकीसहितको प्रभातफेरी न्युरोड हुँदै पोखरा सभागृह पुगेर मूल समारोहमा परिणत भएको थियो ।

Author

Related News