मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सातौँ सृजना कप भलिवल प्रतियोगिता पुस २२ देखि पोखरामा

पोखरा । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिवल’ खेलको प्रवर्धन गर्ने उद्देश्यका साथ सातौँ सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक विद्यालय छात्र/छात्रा भलिवल प्रतियोगिता आगामी पुस २२ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने भएको छ ।

सृजना विकास केन्द्रको आयोजनामा तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुन लागेको प्रतियोगिताबारे २०८२ पुस १ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

अघिल्ला वर्षहरूमा सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल सङ्घको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्षदेखि सृजना विकास केन्द्रको एकल आयोजनामा सातौँ संस्करणका रूपमा सञ्चालन हुन लागेको संस्थाका अध्यक्ष चन्द्र गिरीले जानकारी दिनु भयो ।

अध्यक्ष गिरीका अनुसार विद्यालय तहबाटै खेलकुदको जग मजबुत बनाई जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

कास्की जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई आफ्नो क्षमता देखाउने अवसर मिल्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख ५० हजार ५ सय रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ भने १२ लाख ५० हजार रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

खर्च कटाएर बचत हुने रकम संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यमा खर्च गर्ने अध्यक्ष गिरीले बताउनु भयो ।

कार्यक्रम संयोजक बालकृष्ण बरालका अनुसार प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक (सरकारी) विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा करिब ६० टिम सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फका विजेताले जनही १ लाख रुपियाँ, उपविजेताले ६० हजार रुपियाँ र तृतीय स्थान हासिल गर्ने विद्यालयले ३५ हजार रुपियाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी सर्वोत्कृष्ट छात्र तथा छात्रा खेलाडीलाई जनही ५ हजार रुपियाँ नगद र ट्रफी प्रदान गरिनेछ ।

बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सेटर र बेष्ट सर्भर विधाका उत्कृष्ट खेलाडीलाई जनही एक थान भलिवल प्रदान गरिने संयोजक बरालले जानकारी दिनु भयो ।

प्रतियोगिता पोखरा रङ्गशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ । प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सञ्चारकर्मीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष गिरीले प्रचारप्रसारमा सहयोग गरिदिन सञ्चारकर्मीहरूसँग आग्रह गर्नु भयो ।

कार्यक्रममा सृजना विकास केन्द्रका निर्वतमान अध्यक्ष विष्णुप्रसाद बरालले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन सह–सचिव उर्मिला भट्टराईले गर्नुभएको थियो ।

Author

Related News