पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय सहर पोखरामा आयोजित पाँचदिने व्यापार मेला सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका–९ स्थित प्रदर्शनी केन्द्रमा २०८२ मङ्सिर १७ गतेदेखि सञ्चालनमा आएको नेपाल मणिपाल अस्पताल ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इनफोटेक–२०८२, पोखरा मङ्सिर २१ गते समापन भएको हो ।
समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन र निजी क्षेत्रसँग सहकार्य गर्दै महानगर अघि बढिरहेको बताउनु भयो ।
उहाँका अनुसार महानगर अन्तर्गतको व्यवसाय प्रवर्धन केन्द्रमार्फत उद्यमशीलता चाहने व्यक्तिहरूलाई तालिम तथा परामर्श सेवा प्रदान भइरहेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले उद्यमशील व्यक्तिहरूलाई राज्यले संरक्षण र नीति–समर्थन गर्नुपर्नेमा जोड दिनु भयो ।
राजनीतिको मर्म जनसेवा हो भन्दै उहाँले पछिल्लो समय बैङ्कबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई अपराधीजस्तै व्यवहार गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसको विरोध गर्नु भयो ।
“भदौ २४ गते उद्योगी–व्यवसायीमाथि भएको घटनालाई हामी कुनै पनि रूपमा क्रान्ति मान्दैनौँ । अब यस्ता घटना नदोहोरिउन् र व्यवसायीले सम्मानपूर्वक काम गर्न पाउने वातावरण बनोस्,” अध्यक्ष कार्कीले भन्नु भयो ।
पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म समृद्धि सम्भव नरहेको उल्लेख गर्नु भयो ।
मुख्य प्रायोजक मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडोविलले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमार्फत पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउने लक्ष्य अस्पतालले राखेको बताउनु भयो ।

महासचिव शोभा गौतमका अनुसार औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रका उत्पादन तथा सेवाको प्रवर्धन र बजार विस्तार लक्षित गरी मेलाको आयोजना गरिएको थियो ।
यस वर्ष उत्कृष्ट स्टलतर्फ कस्मिक कम्प्युटर सम्मानित भयो । त्यस्तै उत्कृष्ट झाँकी तथा सांस्कृतिक प्रस्तुतिका लागि नेपाल मगर सङ्घ कास्की तथा देवीस्थान भजन समूह, हेम्जालाई सम्मान गरिएको महासचिव गौतमले जानकारी दिनु भयो ।
मेलाका प्रचारप्रसार संयोजक तथा सङ्घका कार्यसमिति सदस्य मनोहरि पौडेलले ‘लगानी प्रवर्द्धन र उद्योग–व्यापार विस्तार’ अभियानअनुरूप मेलाले व्यवसायिक सम्भावना र नवप्रवर्तन पहिचानमा सहयोग पुर्याएको बताउनु भयो ।
मेलाका क्रममा लगानीमैत्री नीति निर्माण, उद्यमशीलता, नवप्रवर्तन, सूचना प्रविधि र कृषिसम्बन्धी विविध विषयमा परिसंवादहरू पनि सम्पन्न भएका थिए ।
पत्रकार महासङ्घ गण्डकीकी अध्यक्ष जमुना शर्माले पोखरा उद्योग वाणिज्य सङ्घले मेलामार्फत स्थानीय उत्पादनको प्रवर्धन र अर्थतन्त्र सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा उद्योग उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन महासचिव शोभा गौतमले गर्नु भयो ।
