मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

राष्ट्रिय औद्योगिक व्यापार मेला, तयारी अन्तिम चरणमा

पोखरा । २०४२ सालदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक–२०८२ आउँदो मङ्सिर १७ देखि २१ गतेसम्म पोखरा महानगरपालिका-९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घले मङ्सिर १५ गते आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै, यस वर्ष मेलाको मुख्य सहयात्री पोखराकै नेपाल मणिपाल शिक्षण अस्पताल रहेको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार वाणिज्य सङ्घले अघि सारेको शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि–पोखराको पहिचान’ भन्ने नारासँग नेपाल मणिपाल अस्पतालको उद्देश्य मेल खाने भएकाले सहकार्य सम्भव भएको हो ।


उहाँले भन्नु भयो-“पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका लागि अत्यन्त अनुकूल छन् । यस क्षेत्रमार्फत विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना गर्ने सम्भावना पुष्टि हुँदै गएको छ । आधुनिक चिकित्सा पद्धति अँगालेको मणिपाल अस्पतालले उद्योग वाणिज्य सङ्घको पुरानो सपना पूरा गर्न योगदान दिँदै आएको छ ।”

यस वर्ष मेलाको नारा ‘लगानीको संवर्द्धन : उद्योग–व्यवसायको प्रवर्धन’ नै निरन्तरता दिइएको अध्यक्ष कार्कीले जानकारी गराए ।


उहाँका अनुसार मेलाको उद्देश्य स्वदेशी उत्पादन तथा सेवाको बजार पहिचान, प्रवर्धन, प्रचारप्रसार, पोखराको पर्यटन र व्यापार विकास, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष कडी बनाउने, तथा औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटनसम्बन्धी उत्पाद/सेवा को प्रवर्धन र बजारीकरणलाई सहयोग पुर्‍याउनु रहेको छ ।

कार्कीले क्यान नेपाल महासङ्घ, कास्कीले १३ वर्षदेखि गर्दै आएको क्यान इन्फोटेकलाई पनि मेलामा समावेश गरिएको उल्लेख गर्दै, सूचनाप्रविधिमा आधारित नवीनतम उपकरण र सेवाको प्रदर्शनी तथा बिक्रीवितरणलाई लक्ष्य बनाइएको बताए ।

क्यान महासङ्घ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामा नवीनतम प्रविधि, साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा अन्य प्राविधिक कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी दिनु भयो ।

त्यस्तै, महासचिव शोभा गौतमले गण्डकी प्रदेशको पर्यटन प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शन तथा उपभोक्ता उत्पादकबिच प्रत्यक्ष भेटघाट सम्भव गराउने उद्देश्यले प्रदेशकै मौलिक संस्कृति मेलामा प्रदर्शन गरिने बताउनु भयो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गर्दै पोखरालाई आधुनिक चिकित्सा सेवा, आयुर्वेद, योग र ध्यानको केन्द्र का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य बारे जानकारी गराउनु भयो ।

Author

Related News