रुद्रबहादुर खड्का, सिन्धुली ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा २०८२ मङ्सिर ९ गते “औद्योगिक वातावरण सुधार: दिगो अर्थतन्त्रको आधार” भन्ने नाराका साथ उद्योग दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले सिन्धुलीका उद्यमीलाई उद्योग–व्यापारलाई सीप र सिर्जनासँग जोड्न आग्रह गर्दै, आफ्नो पेसालाई मर्यादित ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनु भयो ।
उहाँले सहभागी सबैको सहयोगका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।
गत आर्थिक वर्षमा कार्यालयले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमहरूमा योगदान पुर्याउने १५ जना प्रशिक्षकलाई प्रमुख अतिथिबाट प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी खड्गबहादुर कार्कीलाई सम्मान–पत्र, दोसल्ला तथा नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
साथै, कार्यालय सेवाग्राहीमध्ये सबैभन्दा पहिला सेवा लिन आउने नागरिकलाई पनि दोसल्ला ओडाएर विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै कार्यालय प्रमुख ध्रुवप्रसाद ढकालले औद्योगिक क्षेत्रको महत्व, यसको विकासका लागि आवश्यक नीति तथा भावी कदमहरूबारे आफ्ना धारणा व्यक्त गर्दै कार्यक्रम समाप्त गर्नु भयो ।