मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बन्दीपुरमा पर्यटकको भीड, होटल व्यवसाय फुल्दै

पोखरा । पर्यटकीय गन्तव्यका रूपमा लोकप्रिय बन्दै आएको तनहुँको बन्दीपुरले यतिबेला पर्यटकको चहलपहलसँगै नयाँ उत्साह पाएको छ ।

चालु आर्थिक वर्षको वैशाखदेखि कात्तिकसम्मका सात महिनामा मात्र २१ हजार ७ सय २५ जना विदेशी नागरिकले बन्दीपुर घुमेका तथ्याङ्क छ ।

अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाका अनुसार हाल बन्दीपुरप्रति विदेशी पर्यटकको आकर्षण तीव्र बन्दै आएको छ ।

उहाँले विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या सबैभन्दा धेरै रहेको जानकारी दिनु भएको छ । ‘सात महिनामा ५ हजार ५१ जना चिनियाँ नागरिक आएका छन् ।’-उहाँले भन्नु भयो-‘उनीहरू प्रायः घुमफिरकै उद्देश्यले आउने गर्छन् भने बसाइका लागि भने पोखरा र चितवन रोज्छन् ।’

महिना अनुसार विदेशी पर्यटक आगमन सङ्ख्या

  • वैशाख: ३,२९७
  • जेठ: ३,३४२
  • असार: २,७६६
  • साउन: २,०७५
  • भदौ: १,८३२
  • असोज: ३,७८६
  • कात्तिक: ४,६२७

यसै अवधिमा भियतनाम, भारत र स्पेनका पर्यटकहरूको पनि उल्लेख्य आगमन भएको प्रहरीले जनाएको छ ।

 आन्तरिक पर्यटक झनै धेरै

विदेशी मात्र होइन, आन्तरिक पर्यटकको सङ्ख्या त झनै बढेको छ । तथ्याङ्क अनुसार सात महिनामा ३२ हजार ७ सय ६० जना नेपालीले बन्दीपुरको सौन्दर्य अवलोकन गरेका छन् ।

कात्तिक महिनामा मात्रै १७ हजार ५८ जना विद्यार्थी तथा अन्य आन्तरिक पर्यटक पुगेका छन्, जसले बन्दीपुरमा भीड नै बढाइदिएको छ ।

विसं २०८१ चैतदेखि २०८२ चैतसम्मको अवधिमा १२ हजार ९ सय ३९ विदेशी पर्यटक आएको तथ्याङ्क रहेकोमा यो वर्षको सात महिनामै उक्त सङ्ख्या दोब्बर नजिक पुगेको छ ।

व्यवसायी उत्साहित, होटलहरू भरिभराउ

बढ्दो पर्यटक आगमनसँगै बन्दीपुरका ७० होटल र ४ घरबास अहिले लगभग भरिएका छन् । बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार ‘बन्दीपुर पर्यटन वर्ष २०२५’ लाई सफल बनाउँदै थप पर्यटक भित्र्याउने लक्ष्यानुसार तयारी तीव्र गतिमा भइरहेको छ ।

‘पर्यटकको चापले स्थानीय व्यवसायीहरू अत्यन्त उत्साहित बनेका छन् ।’-अध्यक्ष थापाले भन्नु भयो-‘आगामी वर्ष बन्दीपुर अझै भरिभराउ होस् भन्ने हाम्रो लक्ष्य छ ।’

बढ्दो आन्तरिक तथा विदेशी आगमनका कारण ‘पहाडकी रानी’ बन्दीपुर पुनः नेपाली पर्यटनको आकर्षण केन्द्रका रूपमा उभिँदै आएको देखिन्छ ।

Author

Related News