काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई लिएर अनिश्चितताको चर्चा भइरहेकै बेला नेपाली कांग्रेसले भने निर्वाचन प्रक्रियामार्फत नै राजनीतिक मार्ग खोल्ने निर्णय गरेको छ ।
सानेपमा २०८२ मङ्सिर ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसले निर्वाचन बहिष्कार नभई प्रत्यक्ष सहभागितामार्फत राजनीतिक स्थिरतामा योगदान दिने निर्णय गरेको हो ।
बैठकपछि महामन्त्री गगनकुमार थापाले चुनावमै जाने निर्णयलाई वर्तमान राजनीतिक अवस्थाको ‘स्वाभाविक निरन्तरता’का रुपमा प्रस्तुत गर्नु भयो ।
थापाका अनुसार, २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन ‘राजनीतिको उचित विकासको मूल विकल्प’ भएकाले कांग्रेसले आफ्नो भूमिकाबाट पछि नहट्ने स्पष्ट सन्देश दिएको छ ।
यससँगै कांग्रेसले २०८२ माघ ११ गतेको राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभाका लागि आवश्यक पार्टी दर्ता प्रक्रियालाई पनि तीव्रता दिने घोषणा गरेको छ । पार्टीले निर्वाचन आयोगमा तत्काल दर्ता नवीकरण तथा तयारी थाल्ने निर्णय गरेको छ ।
कांग्रेसको यो निर्णयले दलभित्र चल्दै आएको चुनावी रणनीति, गठबन्धन र सङ्गठन तयारीबारे नयाँ गतिशीलता ल्याउने अनुमान गरिएको छ ।