कृषि विकास कार्यालय सिन्धुलीमा २०८२ मङ्सिर ४ गतेका दिन भएको सरोकारवालाहरूको बैठकबाट तीनकन्याको कुभिन्डेमा कृषकहरूले उत्पादन गरेका जुनारलाई प्रवर्धन मेला गर्ने निर्णय गरिएको छ ।
मङ्सिर २३,२४ र २५ गते तीन दिनसम्म सञ्चालन हुने जुनारलाई प्रवर्द्धन गरी स्थानीय सरकार सञ्चालन अर्थतन्त्रमा सुद्दिढ पार्न र युवालार्इ उद्यमशीलतामा प्रोत्साहन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको गोलन्जोर गाउँपालिकाले जनाएको छ ।
जुनार प्रवर्धन मेलाले स्थानीय तह तथा कृषि क्षेत्रमा क्रियाशील जनप्रतिनिधिहरूले सिन्धुलीको पहिचान बनेको जुनार उत्पादनलाई गुणस्तरीय र व्यावसायिक बनाउन मेलाको महत्वपूर्ण भूमिका हुन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले जुनार प्रवर्धन मेलाले यस गाउँपालिका क्षेत्रभरि पर्यटन विकास प्रवर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।
उहाँको भनाइ अनुसार गाउँपालिकाले आयोजना गरेको मेलाले यस क्षेत्रमा उत्पादन हुँदै आएको जुनारको मूल्य निर्धारण, बजार पहुँच र अनुकूल नीतिका लागि कृषक, स्थानीय तह र निजी क्षेत्रको समन्वय बढाउने अपेक्षा रहेको छ ।

गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) ले जुनार प्रवर्धन गर्ने मेलाको रुपमा जुनारको व्यवसायीक किसानले उत्पादन गरेको जुनारमा देखा पर्न सक्ने रोग तथा किरा नियन्त्रणका लागि पहल गरिने जानकारी दिनु भयो ।
तीनकन्याको कुभिन्डे र आसपासको क्षेत्रलाई जुनार पर्यटनको सम्भावित गन्तव्यका रुपमा प्रवर्धन गर्न कृषक समूह, उद्योग व्यवसाय तथा सक्षम युवालाई उत्पादन वितरण प्रशोधनमा जोड्ने साझा मञ्च तयार गर्ने मेलाको लक्ष्य रहेको उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।
मेलाले जुनारको उत्पादन र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएकोले मेलामा सहभागी हुन आउनेहरूलाई जुनारको बगैंचा समेत अवलोकन गराइने भएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, कृषि विकास कार्यालय सिन्धुली, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमको परियोजनाले गोलञ्जोर गाउँपालिकामा जुनार खेतिको विकास र प्रवर्धनका लागि सरकारी तथा सङ्घसंस्थाहरूको सहकार्यमा जुनार प्रवर्धन मेला आयोजना गर्ने निर्णय गरिएको गोलञ्जोर गाउँपालिकाको कृषि शाखाका अधिकृत चन्द्रकान्त चौधरीले बताउनु भयो ।