पोखरा । पोखरा महानगरपालिका-१५ ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत वडाबासीलाई निःशुल्क तरकारीका विभिन्न जातका बेर्ना वितरण गरेको छ।
वडा अध्यक्ष तोरणबहादुर बानियाँका अनुसार करिब ७ सय घरधुरीलाई काउली, बन्दा र ब्रोकाउलीका १०/१० ओटाका दरले बेर्ना वितरण गरिएको हो ।
मङ्सिर १ देखि ३ गतेसम्म नागरिकता, जग्गाधनी प्रमाणपत्र वा व्यवसाय दर्ता कागजातसहित आवेदन दिने वडाबासीलाई बेर्ना वितरण सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा सदस्य मन्दिरा परियारका अनुसार वार्षिक कार्यक्रमअन्तर्गत ४ हजार किलो आलुको बीउ तथा १ हजार २ सय ५० किलो प्राङ्गारिक मल पनि वितरण गरिएको छ ।
यसैगरी, वडास्तरीय कृषि सञ्जाल पोखरा-८ ले कृषि महाशाखाबाट प्राप्त ५० प्रतिशत अनुदानमा ३५ घरधुरीलाई ५-१० किलोका दरले आलुको बीउ तथा ४ सय ३० घरधुरीलाई ५/५ किलो प्राङ्गारिक मल वितरण गरेको सञ्जाल अध्यक्ष सावित्री घिमिरेले जानकारी दिनु भयो ।