पोखरा । गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय केन्द्र पोखराबाट भुटानको पारो हुँदै राजधानी थिम्पुसम्म सिधा अन्तर्राष्ट्रिय उडान औपचारिक रूपमा सुरू भएको छ ।
भुटानको राष्ट्रिय ध्वजाबाहक भुटान एयरले २०८२ मङ्सिर २ गतेदेखि उडान प्रारम्भ गरेसँगै नेपाल–भुटान बिचको पर्यटन तथा व्यापारिक सम्बन्धमा नयाँ अवसर खुल्ने अपेक्षा गरिएको छ ।
औपचारिक उडानका लागि भुटानबाट जहाज खाली अवस्थामा पोखरा अवतरण गरेको थियो । पहिलो उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको नेतृत्वमा नौ सदस्यीय प्रतिनिधिमण्डल भुटान पुगेको पोखरा विमानस्थलले जनाएको छ ।
थिम्पु पुगेपछि मेयर आचार्यले प्राविधिक कारणले पूर्व निर्धारित टोलीसहितको यात्रा सम्पन्न गर्न नसकिएको बताउनु भयो । तर, उहाँले निकट भविष्यमै नियमित उडान सञ्चालनमा आउने विश्वास व्यक्त गर्नु भयो ।
यसअघि युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी) ले गत असोज १२ गतेदेखि चार ओटा चार्टर उडान गर्ने तयारी गरेको थियो । तर, जेनजी आन्दोलनका कारण तालिका स्थगित हुँदै आएको थियो ।

आन्दोलन शन्त हुँदै गएपछि पुनःतालिकीकरण गरिएको छ । साथै, नियमित सिधा उडान २०२६ अप्रिलदेखि पुनः सुरू हुने जनाइएको छ ।
भुटान एयरको विमान १२६ सिट क्षमताको रहेको छ । यूटीटीले चार्टर उडानसँगै चार रात पाँच दिनको पर्यटन प्याकेजसमेत सार्वजनिक गरेको छ ।
पोखरा–भुटान सिधा उडान आरम्भ हुनुले दुवै देशका पर्यटन व्यवसायलाई नयाँ उचाइ दिने पोखराका पर्यटन व्यवसायी हरि शर्मा गैरेले बताउनु भयो ।
उहाँका अनुसार यसले भुटानी पर्यटकलाई पोखरा भित्र्याउन र नेपाली पर्यटकलाई भुटान आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
हाल भुटान एयरलायन्सले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा चार उडान भर्दै आएको छ । त्यस्तै, हिमालय एयरलाइन्सले पोखरामा सातामा एक उडान सञ्चालन गर्दै काठमाडौं–ल्हासा–पोखरा मार्गमा सेवा दिँदै आएको छ ।