सुर्खेत । सुर्खेतमा लागूऔषधसहित पक्राउ परेका एक थुनुवाको प्रहरी हिरासतमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कात्तिक २१ गते बिहान करिब ५:५८ बजे वीरेन्द्रनगर नगरपालिका-११ निवासी ३६ वर्षीय बिक्रम बुढा मगरको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको र अस्पतालले मगरलाई मृत घोषणा गरेको जनाएको छ ।
प्रहरीका अनुसार बुढा मगरलाई ५५ ग्राम ब्राउन सुगरसहित २०८२ भदौ ३ गते पक्राउ गरिएको थियो । पक्राउपछि मगरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखिएको थियो ।
मृतकको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे परिवारका सदस्यलाई तुरुन्तै जानकारी दिई उनीहरूलाई अस्पताल बोलाइएको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ ।
घटनापछि मृतकका आफन्तले शङ्का व्यक्त गरेपछि परिवारका सदस्य, जनप्रतिनिधि र सञ्चारकर्मीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई हिरासतको सीसीटिभी फुटेज देखाइएको र प्रारम्भिक अध्ययनमा थुनुवाको मृत्यु स्वाभाविक देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको र आवश्यक परे चिकित्सकको पोष्टमार्टम रिपोर्टका आधारमा थप जानकारी सार्वजनिक गर्ने जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा फैलिएका आधारहीन टिप्पणीप्रति आपत्ति जनाउँदै प्रहरीमाथि व्यक्तिगत आरोप नलगाउन आग्रह गरेको छ ।
साथै, घटनासम्बन्धी सत्यतथ्य जानकारीका लागि प्रहरी कार्यालयसँग प्रत्यक्ष सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
