रुद्रबहादुर खड्का, सिन्धुली ।
चाडपर्वलाई प्रायः रमाइलो गर्ने र आफन्तजनसँग भेटघाट गर्ने अवसरका रूपमा मनाइन्छ । तर, कतिपय ठाउँमा यसलाई समाजसेवा र सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको पाइन्छ ।
यसैको उत्कृष्ट उदाहरणका रूपमा सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका-१ झुँगाखोलाका युवाहरूको सक्रियता देखिएको छ ।
झुँगाखोलास्थित न्यू सांस्कृतिक युवा क्लब ले यस वर्षको शुभदिपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट ६६ हजार ८ सय २० रुपियाँ सङ्कलन गरेको छ ।
क्लबका अध्यक्ष सन्तोष समालका अनुसार यो रकमलाई यस वर्ष पनि सामाजिक कार्यमा खर्च गर्ने योजना बनाइएको छ ।
उहाँको भनाइअनुसार क्लबको स्थापना कालदेखि नै देउसीभैलोबाट सङ्कलित रकम सामाजिक उद्देश्यका कार्यक्रममा खर्च हुँदै आएको छ ।
विगतमा सङ्कलित रकमबाट क्लबले विवाह, व्रतबन्ध, पुराणलगायतका सामाजिक भोजभतेरका लागि आवश्यक भाँडाकुडा, टेबल कुर्सी र टेन्ट सामग्री खरिद गरेको जनाएको छ ।