नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएको भन्दै त्यसका लागि पाँच ओटा सर्त अघि सार्नु भएको छ ।
पाँच सर्त अघि तेर्स्याउँदै उहाँले स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताउनु भएको हो ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा २०८२ कात्तिक १२ गते राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।
‘कम्युनिस्ट एकता आजको आवश्यकता हो । किनभने समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ ।’-अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भन्नु भएको छ-‘त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट नै हुनसक्छ ।’
तथापि नेपालले स्पष्ट आधार निर्माण नभई पार्टी एकता हुन नसक्ने बताउनु भएको छ । अध्यक्ष नेपालले पार्टी एकताका लागि सबैभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिकारी कार्यक्रम, कार्यदिशा र कार्यनीतिजस्ता मुलभूत विषयमा एकरुपता हुनुपर्ने बताउनु भएको छ ।
‘यी सबै महत्त्वपूर्ण सवालमा समानता नभई कसैसँग पनि पार्टी एकता हुन सक्दैन । समानता भएमा एकता गर्न नहुने भन्ने हुँदैन, बरु एकता गर्न ढिला पनि गर्नुहुँदैन ।’-अध्यक्ष नेपालले भन्नु भयो ।
तत्काल पार्टी एकताको वातावरण बनिनसकेको बताउँदै आउनु भएका पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले पनि शैद्धान्तिक विषयमा विवाद नरहेको बताउनु भएको छ ।
बिना सुरक्षाकर्मी बैठकमा पुग्नु भयो पूर्व प्रधानमन्त्री नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सहभागी हुन पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिना सुरक्षाकर्मी बैठकस्थल पुग्नु भएको छ ।
धुम्बाराहीस्थित मिराकल भेन्युमा भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू पुगेपछि बैठकसमेत सुरू भइसकेको छ ।

अध्यक्ष नेपाल सुरक्षाकर्मी बिना बैठकस्थल पुग्नु भएको हो । सरकारले २०८२ कात्तिक ११ गतेदेखि पूर्व प्रधानमन्त्री नेपालका सुरक्षाकर्मीहरू फिर्ता गराएको हो ।
