पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले नेपालीहरूको महान चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम २०८२ साल असोज ३० गते पोखरामा आयोजना गरेको छ ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अहिलेको विषम परिस्थितिका बाबजुद अवस्था सहज बन्दै गइरहेको बताउँदै चाडपर्व सुरक्षित तरिकाले मनाउन आग्रह गर्नु भयो ।
उहाँले राष्ट्रिय चाडपर्वहरूले राष्ट्रिय एकता, शान्ति, र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै समाजको परिवेशअनुसार पर्व मनाउन आग्रह गर्नु भयो ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले पर्वहरूले समाजमा समान पहुँच, सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धहरूलाई सुमधुर बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले संस्कृति हाम्रो पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र उपयोग गर्दा कर्तव्य र जिम्मेवारी पनि महत्त्वपूर्ण हुने बताउनु भयो ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका निवर्तमान अध्यक्ष यामनाथ पौडेलले पर्वहरूको संरक्षण र प्रवर्द्धनमार्फत नेपाली संस्कृति जीवित राख्न सबैको कर्तव्य रहेको धारणा राख्नु भयो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले नेपाली संस्कृति पुरानो, समृद्ध र विविधतायुक्त भएको बताउँदै यसको प्रवर्धन र संरक्षण आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतम, पोखरा चेम्बर अफ कमर्स कास्कीका सल्लाहकार विष्णु बास्तोला, प्रेस सल्लाहकार श्यामनाथ कुँवर, संस्थाका पदाधिकारी तथा सदस्यहरू समेतले शुभकामना आदानप्रदान गरनु भएको थियो ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले अतिथि तथा सम्पूर्ण सदस्यहरूलाई स्वागत गर्नुभयो भने उपाध्यक्ष नवीन बरालले धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्नुभयो। कार्यक्रमको संचालन महासचिव गोकर्ण अधिकारीले गर्नुभएको थियो ।