ललितपुर । बागमती प्रदेशमा असोज १७ गतेदेखि असोज २० गतेसम्म उच्च मात्रामा वर्षा हुने मौसम पूर्वानुमानपछि ललितपुर जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहलाई मनसुनी विपदजन्य पूर्वतयारी तथा प्रतिकार्यमा सतर्क रहन निर्देशन दिएको छ ।
जारी गरिएको सूचनामा अस्थायी स्थानान्तरणदेखि उद्धार, राहत र यातायात नियन्त्रणसम्मका कार्यलाई तत्काल प्रभावमा लागू गर्न भनिएको छ।
निर्देशनअनुसार पहिरो सम्भावना रहेका सडक तथा नदी किनारका बस्तीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेछ ।
त्यस्तै, राजमार्ग र स्थानीय सडकमा डोजर, एक्साभेटर, लोडर लगायतका हेभी उपकरण वैकल्पिक चालक र इन्धनसहित तयारी अवस्थामा राख्न भनिएको छ ।
अत्यावश्यक बाहेक असोज १७ गतेदेखि असोज २० गतेसम्म अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
जोखिमयुक्त सडकमा स्थानीय तहले आवागमन स्थगन गर्न सक्ने र त्यसबारे सार्वजनिक सूचना जारी गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।
सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, टोल विकास संस्था, स्वयंसेवक र अन्य सरोकारवालाहरुसँग समन्वय गरी खोज, उद्धार, उपचार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ ।
डुवान हुने क्षेत्रका बासिन्दालाई सुरक्षित तथा उच्च स्थानबारे जानकारी दिन र आवश्यक सामग्री उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।
त्यसैगरी, जरुरी सूचना अनुसार कान्ति लोकपथमा सवारी आवागमन बन्द हुने हुँदा जनतालाई सचेत रहन आग्रह गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले थप सहयोग र आवश्यक स्रोतसाधनका लागि तत्काल जानकारी दिन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।