काठमाडौँ । भारतको तमिलनाडु राज्यस्थित नामक्कलमा आयोजित अभिनेता विजयको राजनीतिक र्यालीमा भगदड हुँदा बालबालिकासहित कम्तीमा ३९ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी घाइते भएका अल जजीराले जनाएको छ ।
टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता–राजनीतिज्ञ विजयलाई सुन्न र हेर्न ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए ।
भीडलाई सम्बोधन गरिरहेका बेला केही मानिस बेहोस भएपछि उहाँले भाषण रोक्दै बाहिरिनु भएको थियो । सोही क्रममा भीड नियन्त्रण बाहिर गएर भागदौड मच्चिएको जनाइएको छ ।
विजयले घटनाबाट आफू अत्यन्तै पीडित भएको उल्लेख गर्दै मृतकका परिवारप्रति गहिरो श्रद्धाञ्जली र समवेदना प्रकट गर्नु भएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जाल एक्समार्फत घटनालाई दुर्भाग्यपूर्ण र दुःखद् भन्दै समवेदना व्यक्त गर्नु भएको छ ।
