नेपालसहित ८ देशका १ सय १७ धावकको सहभागिता
पोखरा । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा दोस्रो पुम्दीभुम्दी खुला पर्वतीय दौड प्रतियोगिता २०८२ असोज ११ गते सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका-२२ विश्वशान्ति स्तुपाबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेव मूर्ति परिक्रमा गर्दै आठ किलोमिटर दूरी पार गरी कालाबाङ घरेडीस्थित बुद्ध पार्कमा समापन गरिएको प्रतियोगितामा नेपालका सातै प्रदेश र बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडासहित आठ देशका ११७ धावक सहभागी भएका थिए ।

प्रतियोगिताको उद्घाटन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै गर्नुभएको थियो ।
६ विधामा सञ्चालन गरिएको प्रतियोगितामा सुदूरपश्चिमका नरेन्द्रसिंह राउतले ३५ मिनेट ४४ सेकेण्डमा दूरी पूरा गर्दै खुला वर्गतर्फ प्रथम स्थान हासिल गरी नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै, सुदूरपश्चिमकै करण रावल दोस्रो (३० हजार) र कर्णालीका दलबहादुर कुँवर तेस्रो (१५ हजार) बने ।

अन्य नतिजाः
- पर्यटकतर्फ : फ्रान्सका थियो डनेट प्रथम (४९:५१ मिनेट) ।
- भेट्रान्सतर्फ : गण्डकीका किशोर थापा प्रथम (५१:०१ मिनेट) ।
- वडा २२ स्तर : कुशल परियार प्रथम (४९:१५) र सुज्जल परियार दोस्रो (५१:०३) ।
- महिला वर्ग : कोशीकी पदमकुमारी सुनुवार प्रथम (५३:३९) र बागमतीकी नीतु तामाङ दोस्रो (५७:४६) ।
- यू–१६ : प्रकाश थिङ प्रथम (४२:५८), तीलबहादुर परियार दोस्रो (३८) र कमल पौडेल तेस्रो (४९:५६) ।
प्रतियोगितामा ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षीय आरोन नेपाललाई जुनियरतर्फ विशेष पुरस्कार प्रदान गरिएको थियो ।
समापन समारोहमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे (अनुपस्थितिमा छोरा शक्ति घिमिरेमार्फत) र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा प्रवर्धन विशिष्ट सम्मान प्रदान गरिएको थियो ।
प्रतियोगिता सफल पार्न पोखरा महानगरपालिका, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न गाउँपालिकासहित होटल संघ पोखरा, नेपाल पर्यटन परिषद्, अन्नपूर्ण केवलकारलगायत निकाय तथा निजी क्षेत्रले सहकार्य गरेका थिए ।
खुला वर्गको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धावक लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका थिए भने अन्य विभिन्न विधा र पुरस्कारका लागि नेलम्बो नेपाल, सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज लगायतका संस्थाले सहयोग गरेका थिए ।
संयोजक दीननाथ बरालका अनुसार प्रतियोगिता पोखराको पर्यटन र खेलकुद प्रवद्र्धनमा प्रभावकारी हुने भएकाले आगामी वर्षहरूमा पनि निरन्तरता दिइने छ ।