मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पोखरा–७ शहिदचोकमा प्रहरीको पेट्रोल पम्प सञ्चालन, चौबिसै घण्टा सेवा

पोखरा । नेपाल प्रहरी प्रदेश कार्यालय पोखराले शहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको हाताभित्र करिब १० करोड रुपैयाँ लागतमा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।

नेपाल प्रहरी कल्याण कोषको लगानीमा बनेको उक्त पेट्रोल पम्प २०८२ असोज ७ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

करिब ९ करोड ९६ लाख ६५ हजार रुपियाँको लागतमा बनेको पम्पको बारेमा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार पम्पबाट चौबिसै घण्टा पेट्रोल र डिजेल बिक्रीवितरण हुनेछ । एक वर्षअघि सुरु गरिएको निर्माण कार्य उच्च अदालत पोखरामा परेको रिटका कारण तीन महिना रोकिएको थियो । गत वर्ष पुसमा रिट खारेज भएपछि निर्माण कार्य अघि बढेको हो ।

पम्प सञ्चालनमा आएपछि अब राष्ट्र बैङ्क चोक, रत्नचोक, ड्यामसाइड, लेकसाइड, मासबार क्षेत्रलगायतका बासिन्दा र सवारीधनीलाई सहज हुने भएको प्रहरी नायब निरीक्षक उदेश्वर अधिकारीले बताउनु भयो ।

यसअघि यहाँ वरपर पम्प नहुँदा सवारीमा इन्धन भर्न बिरौटा, शान्तिनगर वा पृथ्वीचोक जानुपर्ने बाध्यता रहेको थियो ।

पोखरा महानगरपालिका–७ वाईचोक निवासी रामबहादुर महतका अनुसार पोखराका अधिकांश पम्प राति बन्द हुने हुँदा विशेष गरी पर्यटकले सास्ती खेप्नु पर्ने अवस्था रहँदै आएकोमा प्रहरीको चौबिसै घण्टा सञ्चालन हुने यो पम्पले समस्या समाधान गर्ने विश्वास छ ।

Author

Related News