मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

वामपन्थी दलबीच पार्टी एकताको प्रक्रिया सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र नेसपाबीच पार्टी एकताको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

हालै सम्पन्न भएका ती दलका केन्द्रीय बैठकहरूले विचार र सिद्धान्त मिल्ने वामपन्थी शक्तिहरूबीच एकता गरेर अघि बढ्ने निर्णय गरेपछि एकता प्रक्रियाले औपचारिक रुप लिएको हो ।

एकीकृत समाजवादीको पहल

२०८२ भदौ ३ गते बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्तिलाई एकताबद्ध हुन औपचारिक अपिल गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ-“मुलुकमा उत्पन्न विषम परिस्थितिमा कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न वामपन्थी शक्तिहरू एकजुट हुन जरुरी छ ।”

बैठकले नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशामा सहमत हुने शक्तिसँग पार्टी एकता गर्ने तथा अन्यसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

नेकपाको निर्णय र वार्ता समिति

विप्लव नेतृत्वको नेकपाले पनि कपिलवस्तुमा २०८२ भदौ २३ गतेदेखि २६ गतेसम्म बसेको केन्द्रीय समिति बैठकबाट पार्टी एकताको प्रक्रिया अघि बढाउने निर्णय गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी रहनु भएको नेकपाले जनाएको छ ।

माओवादी केन्द्रको तयारी

यसअघि २०८२ साउन १९ गते सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासहित अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरिसकेको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८२ असोज ९ गते बस्ने केन्द्रीय समिति बैठकमा पार्टी एकता र बृहत् मोर्चा निर्माणसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तयारी गर्नु भएको समाचार छ ।

समाजवादी मोर्चाभित्र छलफल

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा मिलेर बनेको समाजवादी मोर्चालाई नै एकतामा रूपान्तरण गर्ने प्रयास भइरहेको ती दलका नेताहरूले बताएका छन् ।


एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले “प्रक्रियागत रूपमा एकता सुरु भइसकेको” बताउनु भएको छ भने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले “समाजवादी मोर्चालाई नै पार्टी एकतामा परिणत गर्ने पहल भइरहेको” प्रतिक्रिया दिनु भएको छ ।

नेसपा अध्यक्ष यादवले पनि घटकबिच एकता विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ ।

राजनीतिक दबाब र नयाँ परिस्थिति

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले पुराना दलहरूलाई एकताप्रति झनै दबाब परेको छ ।

उक्त आन्दोलनपछि नेपाली कांग्रेस-एमाले गठबन्धनको सरकार ढलेको छ भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको छ ।

यससँगै वामपन्थी दलबिच लामो समयदेखि छलफल हुँदै आएको पार्टी एकता अब व्यवहारिक चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ ।

Author

Related News