ललितपुर । कान्ती लोकपथ हुँदै मकवानपुर-सिन्धुली जाने सवारी साधनको आवागमनमा अस्थायी रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले एक सूचना जारी गर्दै २०८२ असोज ७ गतेदेखि २०८२ असोज २१ गतेसम्म दैनिक ३० टन भार क्षमताभन्दा बढी भएका सवारी साधनहरूलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आवागमनमा रोक लगाइएको जनाएको छ ।
सूचना अनुसार, असोज ७ देखि २१ गतेसम्मको चाडपर्वको समयमा सवारी साधनको चाप बढ्ने भएकाले सडक सुरक्षाका लागि यस्तो निर्णय लिइएको हो ।
विशेष गरी मकवानपुर जिल्लाबाट ललितपुरतर्फ आउने सवारीका लागि बगुवाबाट (बागमती गाउँपालिका वडा नं. २) र ललितपुर जिल्लाबाट जाने सवारीका लागि टिकाभैरव (गोदावरी नगरपालिका वडा नं. ६) प्रवेश/प्रस्थान बिन्दु निर्धारण गरिएको छ ।
सूचनामा थप उल्लेख छ कि, अविरल वर्षा र पहिरोका कारण सडकका विभिन्न भागमा जोखिम कायम भएकाले अत्यावश्यक जानकारीबाहेक सवारी साधन सञ्चालन नगर्न र यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित सूचनामा यस निर्णयको पालना गर्न सबै यातायात सेवा प्रदायक तथा यात्रुहरूलाई आग्रह गरिएको छ ।
