पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनलाई राजनीतिक स्थिरता तथा आर्थिक समृद्धिको आधारशिला भएको बताउनु भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा पोखरामा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन र पारदर्शिताको संरक्षणमा सरकार दृढ रहेको स्पष्ट पार्नु भयो ।
मुख्यमन्त्री पाण्डेले भदौ २३-२४ मा देशका विभिन्न स्थानमा भएको ‘जेनजी आन्दोलन’लाई नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहना प्रकट गर्ने ऐतिहासिक घटना भनेर स्मरण गर्नु भयो ।
उहाँले सहादत प्राप्त गरेका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भयो ।
साथै, न्यायपूर्ण छानबिन र दोषीमाथि कारबाहीको माग प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको जानकारी दिनु भयो ।
उहाँले जेनजी पुस्ताले उठाएका मागलाई साझा लक्ष्यका रूपमा स्वीकार गर्दै अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति, सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा सरकार जिम्मेवार रहेको दोहोर्याउनु भयो ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै उपलब्धि माथि प्रहार गर्ने र विकासलाई ध्वंस पार्ने प्रवृत्तिबाट सचेत रहनुपर्नेमा उहाँको जोड रहेको छ ।
मुख्यमन्त्रीका अनुसार गण्डकी प्रदेश सरकारले युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी व्यवस्थापनमार्फत मितव्ययी शासन प्रणाली अगाडि बढाएको छ ।
संविधानलाई कानुनी मात्र नभई न्याय र विधिको अक्सिजनका रूपमा प्रस्तुत गर्दै उहाँले यसको कार्यान्वयन सबैको सामूहिक जिम्मेवारी भएको बताउनु भयो ।
समारोहमा सभामुख कृष्णप्रसाद धिताल, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, विपक्षी दलका नेता हरिबहादुर चुमान, पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले संविधान २०७२ को ऐतिहासिक महत्व र कार्यान्वयनका चुनौतीबारे धारणा राख्नु भएको थियो ।
कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित मन्त्री, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।